बेल्जियमका मिडफिल्डर नासेर चेडलीले अतिरिक्त समयको ९४औँ मिनेटमा गोल गरेपछि बेल्जियमले एसियाली मुलुक जापानमाथि रोमाञ्चक विजय हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक प्रिक्वार्टर खेलमा बेल्जियमले जापानलाई ३–२ ले पराजित गरेको हो । पाँचवटै गोल दोस्रो हाफमा भएका हुन् ।
रोस्ताभ एरिना रंगशालामा भएको जापान र बेल्जियमबीचको खेलमा जापान शुभारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । पहिलो हाफको १७औँ मिनेटसम्म खेललाई आफ्नो नियन्त्रणमा लिएको जापानले शुभारम्भमै गोल गर्ने प्रयास पनि गरेको थियो । जापान आक्रामक रूपमा प्रस्तुत भएपछि बेल्जियमले आफूलाई सम्हाल्दै १७ देखि ३४ मिनेटसम्म बल आफ्नो नियन्त्रणमा लिँदै जापानको पोस्टमा आक्रमण गरे पनि गोल गर्न असफल भएको थियो । त्यसपछि कहिले जापान त कहिले बेल्जियम एक–अर्कामा हाबी हुँदै पहिलो हाफ गोलरहित सकिएको थियो ।

दोस्रो हाफमा पनि जापानले आक्रामक खेल खेल्दै खेल शुरु भएको तेस्रो मिनेट अर्थात् ४८औँ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो । उक्त गोल गेकी हारागुचीले गरेका थिए । पहिलो गोल गरेपछि निकै हौसिएको जापानले अझ आक्रामक खेल खेल्दै ५२औँ मिनेटमा दोस्रो गोल गरेर क्वार्टरफाइनलमा पुग्ने स्थितिलाई अझ बलियो बनाएको थियो । उक्त गोल मिडफिल्डर ताकासी इनुईले गरेका थिए ।
एकपछि अर्को गोल गर्दै जापानले सनसनी फैलाएपछि बेल्जियम दबाबमा परेको थियो । साँचो रूपमा भन्नुपर्दा जापानको अकल्पनीय खेलको अगाडि बेल्जियम स्तब्ध बनेको थियो । तर, आफूलाई सम्हाल्दै जापानको गोलपोस्टमा आक्रमण गर्दै आएको बेल्जियमले पोस्टमा चार्ज नगरेको हेड गरेको बल गोलमा परिणत भएपछि त्यहीँबाट खेलको टर्निङ प्वाइन्ट शुभारम्भ भएको थियो । उक्त अकल्पनीय हेड गोल ६९ मिनेटमा जोन बर्टोन्गनले गरेका थिए । त्यसको ५ मिनेटपश्चात् अर्थात् ७४औँ मिनेटमा मारोअन फेलानीले दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको अन्तिम १० मिनेटमा दुवै टिमले गोल गर्ने प्रयास गरे पनि असफल भएका थिए । खेल अतिरिक्त समयमा जाने पक्कापक्की भइरहेको अवस्थामा अर्थात् ९३औँ मिनेटमा जापानले कर्नर पाएको थियो । सोही कर्नरलाई गोलमा परिणत गर्न सम्पूर्ण जापानका खेलाडी डी. पोस्टमा पुगेका थिए । यसैको फाइदा उठाउँदै ९४औँ मिनेटमा बेल्जियमले काउन्टर अट्याक गर्दै विजय गोल गरेको थियो । उक्त गोल नासेर चेडलीले गरेका थिए । अब क्वार्टरफाइनलमा बेल्जियमको भिडन्त ब्राजिलसँग हुनेछ ।
प्रतिक्रिया