पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी

पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी


कास्की आर्चरी क्लब, पोखराकी केशरी आलेमगरले लक्ष्मणकुमार श्रेष्ठ स्मृति पाँचौँ राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको महिला व्यक्तिगत रिकर्भमा स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा केशरीले राष्ट्रिय च्याम्पियन नेपाल आर्मीकी आइशा तामाङलाई ६–५ ले पराजित गरेकी हुन् । निर्धारित समयमा खेल ५–५ को बराबरीमा टुंगिएको थियो । त्यसपछि दुवैलाई १–१ तिर हान्न लगाइएकोमा केशरीले अधिकतम १० अंक जोडेकी थिइन् । आइशाले भने ९ अंक प्राप्त गरिन् । आर्मीकै ज्ञानु अवालेले तेस्रो स्थानमा चित्त बुझाइन् ।

नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिता पुरुष व्यक्तिगत रिकर्भमा आर्मीका रोशन नगरकोटी स्वर्ण जिते । उनले फाइनलमा टे«डिसनल आर्चरी क्लबका लक्ष्मण पुनलाई ६–४ ले पराजित गरेका हुन् । आर्मीकै प्रेम विक तेस्रो भए ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्डमा आर्मीका तविन गुरुङ पहिलो भए । उनले फाइनलमा ट्रेडिसनलका प्रेमकुमार भट्टचनलाई ७–३ ले पाखा लगाएका थिए । वेस्ट आर्चरीका नवीनवीर बस्नेत तेस्रो भए ।

सो स्पर्धाको महिलामा अर्चना थापामगरले फाइनलमा सेलिना गुरुङलाई ६–२ ले निराश पार्दै स्वर्ण जितिन् । शर्मिला गुरुङले कांस्य हात पारिन् । शीर्ष तीन स्थान हात पार्ने सबै अन्नपूर्ण आर्चरी क्लबका हुन् ।

पुरुष व्यक्तिगत कम्पाउन्डमा वेस्टका प्रजित अग्रवाल च्याम्पियन बने । उनले फाइनलमा राजधानी दैनिकका सनातन मल्लाको चुनौती १३७–१३१ ले समाप्त पारेका हुन् । स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचने तेस्रो स्थानमा चित्त बुझाए ।

पुरुष स्ट्यान्डर्ड टिम इभेन्टमा वेस्ट पहिलो, अन्नपूर्ण दोस्रो र आर्मी तेस्रो भए । पुरुष रिकर्भ टिममा आर्मीले स्वर्ण, ट्रेडिसनलले रजत र कास्कीले कांस्य हात पारे ।

विजेतालाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आर्चरी संघका अध्यक्ष दीपककुमार गुरुङ, महासचिव रमेश सिवाकोटीलगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा ५५ खेलाडीले ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।