फिफा विश्वकप फुटबलको २१औँ संस्करणमा ३२ राष्ट्रहरूले सहभागिता जनाएका छन् । यी राष्ट्रहरूमध्ये विश्वकपको दाबेदारको रूपमा केही राष्ट्रहरूलाई प्रस्तुत गरेर चर्चामा ल्याइए पनि अन्य राष्ट्रहरूको बारेमा त्यति चासो राखिएको देखिएको छैन । यो विश्वकपको अन्तिम छनोटमा परेका त्यस्ता राष्ट्रहरू पनि छन् जो आफैँमा चर्चा गर्न लायक छ । यी राष्ट्रहरू विश्वकपमा पुगेर मात्रै चर्चाका विषय बनेका होइनन्, उनीहरू आफ्नो छुट्टै पृष्ठभूभिका कारणले पनि यतिबेला चर्चित बनेका हुन् । तीमध्ये अहिले केही राष्ट्रहरू विश्वकपबाट बाहिरिसकेका छन् भने कोही अझै विश्वकपमा भिडन्त गरिरहेका छन् । यहाँ तिनै राष्ट्रहरूको बारेमा रोचक जानकारी प्रस्तुत गरिएको छ ।
यो विश्वकपमा सहभागी राष्ट्रहरूमा सबैभन्दा धनी राष्ट्रका रूपमा स्वीट्जरल्यान्डले पहिलो स्थान प्राप्त गरेको छ भने अफ्रिकी राष्ट्र सेनेगल सबैभन्दा गरिब राष्ट्रको रूपमा चिनिएको छ । त्यस्तै जनसङ्ख्याको दृष्टिकोणले ब्राजिल सबैभन्दा ठूलो राष्ट्र बनेको छ भने आइसल्यान्ड सबैभन्दा सानो । आइसल्यान्डको कुल जनसङ्ख्या ३ लाख ३४ हजार मात्रै छ । तर, प्रतिव्यक्ति आयको चर्चा गर्दा आइसल्यान्डले पहिलो स्थानमा रहेको स्वीट्जरल्यान्डपछि दोस्रो स्थानमा छ ।
स्वीट्जरल्यान्डको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलरभन्दा माथि छ । जब कि अफ्रिकी देश सेनेगलको वार्षिक प्रतिव्यक्ति आय १ हजार ३८ डलर छ । त्यस्तै, दोस्रो स्थानमा रहेको आइसल्यान्डको वार्षिक प्रतिव्यक्ति आय ७० हजार ३३२ डलर छ । यी राष्ट्रपछि तेस्रो नम्बरमा डेनमार्क परेको छ । जसको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार ४४४ डलर छ । त्यस्तै चौथो नम्बरमा अस्ट्रेलिया परेको छ । जसको वार्षिक प्रतिव्यक्ति आय ५५ हजार ७०७ अमेरिकी डलर छ । यसैगरी पाँचौँ नम्बरमा स्वीडेन परेको छ । जसको वार्षिक प्रतिव्यक्ति आय ५३ हजार २१८ अमेरिकी डलर छ ।
जनसङ्ख्याको हिसाबले ब्राजिल पहिलो स्थानमा छ । ब्राजिलको कुल जनसङ्ख्या २१ करोड छ । ब्राजिलपछि सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र नाइजेरिया हो । जसको कुल जनसङ्ख्या १९.५ करोड छ । त्यस्तै, आयोजक राष्ट्र रसिया जनसङ्ख्याको हिसाबले तेस्रो स्थानमा परेको छ । जसको जनसङ्ख्या १४.४ करोड रहेको छ । त्यस्तै, १३ करोडका साथ मेक्सिकोले चौथो र एसियाली राष्ट्र जापान जनसङ्ख्याको हिसाबले पाँचौँ स्थानमा परेको छ । जसको जनसङ्ख्या १२.७ करोड रहेको छ ।
प्रतिक्रिया