राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता काठमाडौंमा हुने

राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता काठमाडौंमा हुने


नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा उक्त कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ । कार्यक्रम काठमाडौंको बसुन्धारास्थित चन्द्रबिन्दु स्कुलमा हुनेछ ।

उक्त बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रूपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा २ सय ५० जनासम्मको सहभागिता रहने अपेक्षा आयोजकका रहेको छ ।


बाघचाल प्रतियोगितामा सहभागिताका आवेदनसमेत खुला भइसकेको छ । २०७५ साल साउन २ गते साँझ ५ः०० बजेसम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइनेछ । म्याद नाघी आएको आवेदन मान्य नहुने आवेदकले जनाएको छ ।

आवेदन शुल्कको रूपमा प्रतियोगीले १ सय ५० रुपैयाँ सशुल्क बुझाउनुपर्नेछ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । उक्त कार्यक्रमका प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ५५००, ३५०० र २५०० रुपैयाँका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसका साथै उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका पूर्वखेलाडीलाई सम्मान गरिनेछ । सम्मानित हुने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडीहरूमा रामजीप्रसाद बज्राचार्य कराते, दीपक विष्ट तेक्वान्दो, विनोद दास क्रिकेट, सारादेवी तामाङ ब्याडमिन्टन, दीपक महर्जन बक्सिङ, आङबाबु लामा उसु, भरत शाह भलिबल, ममता चौधरी महिला क्रिकेट, जितबहादुर केसी एथलेटिक्स, तारादेवी पुनमगर भारोत्तोलन, रञ्जना धामी पारा ओलम्पिक (अपाङ्ग) र सोमबहादुर सुनुवार पारा ओलम्पिक (अपाङ्ग) रहेका छन् ।