विश्वकपबाट बाहिरिए चार महारथी

विश्वकपबाट बाहिरिए चार महारथी


रसियामा सञ्चालन भइरहेको विश्वकप फुटबलको २१औँ संस्करणमा निकै उलटफेर भएको छ । लिग चरणको पहिलो खेलमा विश्व च्याम्पियन जर्मनी मेक्सिकोसँग ३–० ले पराजित, विश्वकपमा नवप्रवेशी आइसल्यान्डबाट गत संस्करणको उपविजेता अर्जेन्टिना बराबरीमा रोकिनु, त्यस्तै सबैभन्दा बढी विश्वकपको उपाधि जितेर कीर्तिमान बनाएको ब्राजिल स्वीटजरल्यान्डसँग बराबरीमा खेल्नुदेखि शुभारम्भ भएको उलटफेरको घटना लिग चरणदेखि प्रिक्वार्टरफाइनलसम्मका खेलहरूमा जारी छ अर्थात् रोकिने कुनै सङ्केत देखाएको छैन ।

यो विश्वकपमा विश्व च्याम्पियन जर्मनी लिग चरणबाटै घर फर्किएको थियो । जर्मनीलाई घर फर्काउने कार्य मेक्सिको र एसियाली राष्ट्र दक्षिण कोरियाले गरेका थिए । जर्मनीले सहजै जित्ने अनुमान अड्कल काटिएको लिग चरणको तेस्रो खेलमा कोरियाले जर्मनीलाई २–० पराजित गरेर विश्वकपमा सनसनी फैलाउँदा ठूलो उलटफेर गरेको थियो । विश्वकप फुटबलको इतिहासमा ८० वर्षपछि पुनः यस्तो घटना दोहोरिएको थियो ।

लिग चरणबाटै विश्वकपबाट झन्डै बाहिरिसकेको गत वर्षको विश्वकपको उपविजेता अर्जेन्टिना प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन । नकआउट चरणमा फ्रान्ससँगको हाइभोल्टेज खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएर विश्वकपबाट बाहिरिएको छ । यो विश्वकपको अहिलेसम्मकै रोमाञ्चक र सनसनीपूर्ण मानिएको अर्जेन्टिना र फ्रान्सबीच भएको खेलमा ७ गोल भएका थिए । साँचो रूपमा भन्नुपर्दा यो विश्वकपको फाइनल खेलजस्तै थियो । यो खेलमा जसले जिते हारे पनि फुटबलले चाहिँ जितेको थियो । फुटबलप्रेमीहरू यो खेल हेरेर खुसीले गद्गद् भएका थिए ।

प्रिक्वार्टरफाइनलमा अर्जेन्टिना विश्वकपबाट बाहिरिएको केही घन्टापछि पोर्चुगल पनि बाहिरिएको थियो । निकै चासोका साथ हेरिएको यो प्रिक्वार्टरको दोस्रो खेलमा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै स्वदेशी फर्किन बाध्य बनाएको थियो । अर्जेन्टिना र पोर्चुगल पराजित भएपछि विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पनि विश्वकपबाट टाढा भएका थिए । यो विश्वकपको लिग चरणमा पोर्चुगलले राम्रो सुरुवात गरे पनि अर्जेन्टिनाले भने आफ्नो नामअनुसारको स्वाभाविक खेल देखाउन सकेको थिएन ।

प्रिक्वार्टरको तेस्रो खेलमा भएको उलटफेरले फुटबलका विज्ञहरूलाई स्तब्ध पारिदिएको थियो । आयोजक राष्ट्र रसिया र स्पेनबीच भएको खेलमा स्पेनले रसियामाथि सहजै जित हासिल पार्ने प्रायः सबैको एउटै मत थियो । यो खेल हेर्न रंगशालामा उपस्थित भएका ७५ हजार दर्शकको प्रतिक्रिया पनि स्पेनले नै जित्नै थियो । तर, खेलको परिणाम सोचको जस्तो अड्कल र अनुमान गरेको जस्तो आएन । निर्धारित ९० मिनेटमै सकिनुपर्ने खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा रसियाका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई घरको बाटो देखाइदिए । यसरी यो विश्वकपमा स्पेनको यात्रा पनि प्रिक्वार्टफाइनलभन्दा अगाडि बढ्न सकेन । यसरी यो विश्वकपका प्रमुख दाबेदार मानिएका ६ राष्ट्रहरूमध्ये ४ वटा बाहिरिसकेका छन् ।