विश्वकप फुटबलको चर्चा गर्दा सर्वप्रथम युरोपेली र दक्षिण अमेरिकी राष्ट्रहरूको नाम हरेकको मथिङ्गलमा घुम्ने गर्छ । त्यसमाथि जसले विश्वकपमाथि आफ्नो प्रभुत्व जमाएका छन् ती राष्ट्रले विश्वकपको सदावहार ‘हिरो’ बनेर ‘सामन्ती अधिनायकत्व’ कायम गर्दै आएका छन् । विश्वकपको ब्रान्ड मात्र नभई विश्वकप नै उनीहरूको वरिपरि घुमेको महसुस आममानिसले गर्दै आएका छन् । त्यस्ता राष्ट्रहरूमा ब्राजिल, जर्मनी, उरुग्वे, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, स्पेन र इटालीको नाम अग्रपङ्क्तिमा छन् । यसर्थमा कि यी राष्ट्रले एकपटक मात्र नभई पटकपटक विश्वकपको उपाधि जितेका छन् ।
विश्वकप जितेकै भरमा फुटबलको सम्पूर्ण साँवाको ब्याज खाइरहेका ती राष्ट्रले हाल रसियामा सञ्चालन भइरहेको विश्वकपको २१औँ संस्करणमा भने नराम्रोसँग धक्का खाएका छन् । विश्व वरीयतामा नम्बर एक स्थानमा रहेको डिफेन्डिङ विश्व च्याम्पियन जर्मनी लिग चरणबाटै घर फर्किएको छ । त्यस्तै, लिग चरणमा अर्जेन्टिना, पोर्चुगल र स्पेनले पनि आफ्नो नामअनुसारको प्रदर्शन गर्न सकेनन् । घिस्रिँदै नकआउट चरणसम्म पुगे पनि त्योभन्दा माथि बढ्न सकेनन् । यसरी सन् २०१८ को विश्वकपको प्रमुख दाबेदार रहेका फुटबलका महारथीहरू विश्वकपबाट बाहिरिएपछि फुटबलको विरासत तोडिने सङ्केत मिलेको छ ।
विश्व च्याम्पियन जर्मनीलाई एसियाली राष्ट्र दक्षिण कोरियाले लिग चरणमा २–० ले पराजित गर्नुलाई विश्वकपकै सनसनीपूर्ण घटना मानिएको छ । त्यस्तै, अर्जेन्टिनालाई नवप्रवेशी राष्ट्र आइसल्यान्डले बराबरीमा रोक्नु, स्वीट्जरल्यान्डले ब्राजिलसँग बराबरीमा खेल्नु, स्पेनलाई रसियाले पराजित गर्नु र जापानले बेल्जियमलाई धुरुधुरु रुवाउनुले पनि फुटबलमा वर्षौँदेखि गाडिएको ‘सामन्ती अधिनायकत्व’लाई राम्रोसँग चुनौती दिएको ठानिएको छ । जसले आगामी दिनमा केही राष्ट्रहरूको विरासत मात्रै बनेको फुटबलको पर्खाललाई तोड्ने सङ्केत दिएको छ ।
यो विश्वकपमा दक्षिण अफ्रिकी राष्ट्रहरूले सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् । परिणाम सबै अफ्रिकी राष्ट्र लिग चरणबाटै घर फर्किन बाध्य भए । नाइजेरिया र सेनेगलले उत्कृष्ट प्रदर्शन गरे पनि उनीहरूलाई भाग्यले साथ दिएन । त्यस्तै, विश्वकप फुटबलको इतिहासमा पहिलोपटक जापान ‘फेयर प्ले’ नियमअनुसार नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र बन्यो । अन्य एसियाली राष्ट्रमध्ये कोरियाले उत्कृष्ट प्रदर्शन गरे पनि इरान र साउदी अरेबियाले कुनै चमत्कार देखाउन सकेनन् । तर, यी राष्ट्रले फुटबलका महारथी राष्ट्रहरूलाई दिएको चुनौती भने प्रशंसा गर्न लायक मानिएको छ ।
रसियामा सञ्चालन भइरहेको विश्वकप फुटबलमा भएको उलटफेरलाई दृष्टिगत गर्दा अझै उलटफेर हुने देखिएको छ । यतिबेलासम्म जर्मनी, अर्जेन्टिना, स्पेन र पोर्चुगल विश्वकपबाट बाहिरिसकेका छन् । अब विश्वकपको दाबेदार मानिएका ब्राजिल, फ्रान्स र बेल्जियम मात्रै बाँकी छन् । यी राष्ट्रहरूले अब क्वार्टरफाइनलमा कस्तो प्रदर्शन गर्छन् त्यो निकै चासोको विषय बनेको छ । आयोजक रसिया, प्रभावशाली क्रोएसिया र अपत्यारिलो उरुग्वेले आफ्नो छनक देखाउन कुनै कसर बाँकी राख्ने छैनन् । तसर्थ यो विश्वकप अहिले आफैँमा ‘उलटफेरको विश्वकप’ बनेको छ । कसले बाजी मार्ने हो हो अनुमान गर्न मुस्किल छ ।
प्रतिक्रिया