नरेन्द्र मोदीका नाममा करोडौँ खाने दाउ !

नरेन्द्र मोदीका नाममा करोडौँ खाने दाउ !


भ्रष्टाचार कसरीसम्म गरिन्छ भन्ने अर्को एउटा रोचक दृष्टान्त दुई नम्बर प्रदेशको सरकारले प्रस्तुत गरेको छ । गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको खर्च शीर्षकमा प्रदेश सरकारले केन्द्रसँग करिब सात करोड रुपैयाँको भुक्तानी मागेपछि भ्रष्टाचारको नयाँ दृष्टान्त प्रकट भएको हो ।

प्राप्त जानकारीअनुसार प्रदेश मन्त्री जितेन्द्र सोनलले भ्रमणको क्रममा भएको खर्चको विवरण पेस गर्दै केन्द्रबाट करिब सात करोड रुपैयाँ भुक्तानी दाबी गरेका छन् । उनले पेस गरेको विवरणमा प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा बाह्र बिघा मैदानमा माटो भरेको, सहभागीलाई खाजाको व्यवस्था गरेको, मञ्च बनाएको, टेन्ट, कुर्सी, साउन्ड, लाइट र डिजिटल बोर्ड लगाएको तथा यातायात व्यवस्था गरेकोलगायतका खर्चको शीर्षक उल्लेख गरेका छन् । जब कि बाह्र बिघा मैदानमा माटो भरेको भनेर जनकपुर उपमहानगरपालिकाले पनि नगरसभामा आफ्नो खर्चको विवरण देखाएको छ ।

उपमहानगर प्रमुख लालकिशोर शाहले बाह्र बिघा मैदानमा माटो भर्ने काम उपमहानगरपालिकाबाट भएको दाबी नगरसभासमक्ष गरेका छन् । प्रदेश सरकारले मञ्च निर्माण, मञ्च सजावट, टेन्ट, कुर्सी, लाइट, साउन्ड र डिजिटल बोर्ड शीर्षकमा भुक्तानी दाबी गरेको त छ तर त्यहाँ उक्त कार्यको व्यवस्थापन भारतीय जनता पार्टी स्वयम्ले गरेको र त्यसको ठेक्का पटनाको एउटा कम्पनीले लिएको बुझिएको छ ।

प्रदेश सरकारले केही डिजिटल बोर्ड लगाएको भए पनि मञ्च निर्माण, व्यवस्थापन तथा सजावटको सम्पूर्ण काम भारतीय कम्पनीबाट भएको र त्यसको भुक्तानीसमेत भारतीय पक्षबाट नै भइसकेको बताइन्छ । त्यस्तै भ्रमणका अवसरमा आवश्यक खाना र खाजाको व्यवस्था हिन्दू स्वयम्सेवक सङ्घले गरेको थियो । प्रदेश सरकारले त्यसको पनि बिल केन्द्रमा पेस गरेको छ ।

प्रदेश सरकारले दुई नम्बर प्रदेशको आठवटै जिल्लाबाट मानिस जनकपुर ल्याउन केही बसको व्यवस्था गरेको थियो । तर, बसको व्यवस्था हिन्दू स्वयम्सेवक सङ्घले पनि गरेको थियो । प्रदेश सरकारले भने सम्पूर्ण बसको व्यवस्थापन आफैँले गरेको दाबीसहित भुक्तानी माग गरेको छ । उक्त रकम भुक्तानीका निम्ति ताकेता गर्न प्रदेश मुख्यमन्त्री लालबाबु राउत र मन्त्री जितेन्द्र सोनलले पटक–पटक प्रधानमन्त्री र अर्थ मन्त्रालयमाथि दबाब दिँदै आएका छन् । खर्च विवरण प्रामाणिक नभएकोले सरकारले मागबमोजिम भुक्तानी दिन आनाकानी गरेको बुझिएको छ ।

यस सम्बन्धमा मुख्यमन्त्री राउतको धारणा बुझ्न घटना र विचारले उहाँको ९८४५०३३३२६ नम्बरमा सम्पर्क गर्दा फोन उठाउनुभएन र कलब्याक गर्ने कष्ट पनि उहाँले गर्नुभएन । मन्त्री जितेन्द्र सोनालको नम्बर ९७४११५५८८५ भने अफ गरिएको थियो ।

स्मरणीय छ, लालबाबु राउत वीरगञ्ज नगरपालिकाको कर्मचारी रहँदा पनि उनीमाथि भ्रष्टाचार गरेको आरोप लागेको र सोही कारण उहाँको जागिर पनि गुमेको थियो । तर, पछि उहाँले ‘क्लिन चिट लिनुभएको’ समाचार सूत्रहरूले जनाएका छन् ।