कतार विश्वकपमा नदेखिने फुटबलका चर्चित स्टारहरू

कतार विश्वकपमा नदेखिने फुटबलका चर्चित स्टारहरू


सन् २०१८ मा एसियाली राष्ट्र कतारमा विश्वकप फुटबलको २२औँ संस्करणको आयोजना हुँदै छ । अहिले उक्त विश्वकपलाई सफलताको मूर्तरूप दिन कतारले युद्धस्तरमा कार्य अगाडि बढाएको छ । विश्वकप आयोजनाको जिम्मेवारी पाएसँगै कतारले विश्वकप फुटबलको लागि भौतिक पूर्वाधार निर्माणको कार्य थालनी गरेको अहिले चार वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा कतारले जुन प्रगति गरेको छ, त्यसबाट फिफा पनि सन्तुष्ट देखिएको छ । अबको चारको वर्षभित्र कतारले विश्वस्तरका रंगशालाको निर्माण गरिसक्ने पनि फिफाका प्रतिनिधिहरूले अनुगमनपछि पेस गरेको प्रतिवेदनमा उल्लेख छ । एसियाली राष्ट्रहरूले दोस्रोपटक आयोजना गर्न लागेको कतार विश्वकपमा विश्वका चर्चित फुटबल स्टारहरूलाई देख्न नपाइने भएको छ । ती खेलाडीमा केही खेलाडीले खेल्न सक्ने सम्भावना भए पनि केहीले उमेर तथा अन्य कारणले खेल्न सक्ने छैनन् । अहिले तिनै सम्भावित फुटबलका स्टार खेलाडीलाई प्रस्तुत गरिएको छ ।

लियोनल मेसी : सन् २००६ देखिको विश्वकप फुटबल प्रतियोगितामा सहभागिता दिँदै आएका लियोनल मेसीको यो विश्वकपमा व्यक्तिगत रूपमा चौथो सहभागिता हो । २००६ को विश्वकपमा पहिलोपटक डेब्यु गर्दा मेसी १८ वर्षका थिए । सन् २०१८ को रसिया विश्वकपमा आइपुग्दा मेसीको उमेर ३१ वर्षको भइसकेको छ । सन् २०२२ मा कतार आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गर्दा त्यतिबेला मेसीको उमेर ३५ वर्षको हुनेछ । सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । फाइनलमा जर्मनीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । आफ्नो विश्वकप जित्ने सपना चकनाचुर भएपछि उनले यस्तो निर्णय गरेका थिए । तर, सन्न्यास लिएको केही सातापश्चात् नै अर्जेन्टिनी सरकारले राष्ट्रिय फुटबल टिममा मेसीको आवश्यकतालाई मध्यनजर गर्दै सन्न्यासको घोषणा फिर्ता गर्न लगाएको थियो । यसपटक अर्जेन्टिना प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन अर्थात् विश्वकपबाट बाहिरिसकेको छ । अहिलेसम्म मेसीले कुनै किसिमको घोषणा गरेका छैनन् । सन्न्यासको घोषणा गरिहाले पनि उनले आगामी विश्वकप नखेल्नेबारेमा अहिल्यै केही भन्न सकिने अवस्था छैन ।

क्रिस्टियानो रोनाल्डो : विश्वका चर्चित फुटबल खेलाडीमध्येका एक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल खेल्ने कुरामा यतिबेला प्रश्न उठेको छ । यतिबेला रोनाल्डो उमेर ३३ वर्षका भएका छन् । रोनाल्डो सन् २०२२ को विश्वकप खेल्दा ३७ वर्षका हुनेछन् । विगत तीन विश्वकपमा लगातार सहभागिता दिँदै आएका रोनाल्डोले अहिलेसम्म नामअनुसारको प्रदर्शन गर्न सकेका छैनन् । व्यावसायिक क्लबस्तरमा रोनाल्डो जति सफल छन देशको लागि त्यति सफल देखिएका छैनन् । रसियामा सञ्चालन भइरहेको विश्वकपबाट पनि पोर्चुगल बाहिरिसकेको छ । यस्तो अवस्थामा ढल्कँदो उमेर, व्यावसायिक फुटबल र चोटका कारणले पनि रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिन सक्छन् । त्यसैले कतार विश्वकपमा नदेखिने पहिलो स्टार खेलाडीको सूचीमा परेका छन् ।

इनिएस्ता : पहिलोपटक सन् २००६ को विश्वकपमा डेब्यु गरेका इनिएस्ताले यतिबेलासम्म चारवटा विश्वकपमा सहभागिता जनाइसकेका छन् । सन् २०१८ को रसिया विश्वकपमा पनि मिलफिल्डरको महत्वपूर्ण भूमिका निभाउँदै आएका ३४ वर्षीय इनिएस्ताको यो चौथो विश्वकप हो । उनले चारवटा विश्वकपको यात्रामा सन् २०१० को विश्वकपमा स्पेनलाई विश्वकप फुटबलको उपाधि जिताउन अहम् भूमिका निभाएका थिए । इनिएस्ताले नेदरल्यान्डविरुद्ध भएको विश्वकपको फाइनलमा निर्णायक गोल गरेर स्पेनलाई विश्व च्याम्पियन बनाएका थिए । यसबाहेक सन् २००८ र २०१२ मा स्पेनलाई युरोपियन च्याम्पियन बनाउन विशेष भूमिका निभाएका थिए । आउँदो सन् २०२२ को कतार विश्वकपका समयमा इनिएस्ताको ३८ वर्ष हुँदा उनलाई उक्त विश्वमा नदेखिने खेलाडीको रूपमा यतिवेला चर्चा गरिएको छ ।

टिम केहिल : अस्ट्रेलियन फुटबलमा महान् खेलाडीको नाम लिँदा टिम केहिलको नाम अग्रपङ्क्तिमा आउँछ । उनले विश्वकप फुटबलमा सन् २००६ मा डेब्यु गरेका थिए । त्यसपछि निरन्तर अस्ट्रेलियन राष्ट्रिय फुटबल टिमबाट खेल्दै आएका केहिलको यो चौथो विश्वकप सहभागिता हो । यो विश्वकपमा केहिलले नामअनुसारको प्रदर्शन गर्न नसके पनि २००६, २०१० र २०१४ का विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल गर्न सफल भएका थिए । यो विश्वकपमा ३८ वर्ष पुगिसकेका केहिल कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको बेला ४२ वर्षका हुनेछन् । त्यसैले उमेरका कारण केहिल अर्को विश्वकपमा देखिने सम्भावना निकै न्यून देखिन्छ ।

गेरार्ड पिके : स्पेनका चर्चित खेलाडी गेरार्ड पिकेले सन् २०१६ मै आउँदो अर्थात् २०२२ मा कतारमा आयोजना हुने विश्वकप नखेल्ने घोषणा गरेका थिए । पिकेले हाल रसियामा सञ्चालन भइरहेको २१औँ विश्वकप फुटबलपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए । सन् २०१० को विश्वकप जिताउन अहम् भूमिका निभाएका पिके अहिले स्पेनिस क्लब बार्सिलोनाबाट फुटबल खेल्छन् । पछिल्लो समयमा स्पेनको काटालान राज्यबाट बार्सिलोना अलग हुनुपर्छ भन्ने मागको समर्थन गरेपछि पिके विवादमा तानिएका थिए । पिकेको यो समर्थनसँगै उनका फ्यानहरूले यसको विरोध गरेका थिए ।

राफेल मार्केस : लगातार चारपटक मेक्सिकोको तर्फबाट विश्वकपमा कप्तानको भूमिका निभाएका राफेल मार्केसले सन् २०१८ को शुभारम्भमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । विश्वकप फुटबल २०१८ मा परेका कारण उनले रसिया विश्वकपसम्म सन्न्यास सक्रिय फुटबलबाट सन्न्यास नलिने घोषणा गरेका थिए । तसर्थ अहिले पनि उनी यो विश्वकपमा कप्तानको भूमिकामा देखिएका छन् । विश्वचर्चित मिडफिल्डरको रूपमा परिचित मार्केसको टिमले यसपटक लिग चरणमा विश्व च्याम्पियन जर्मनीलाई पराजित गरेर विश्वकपमै उलटफेर गरिसकेको छ । मार्केसले आफ्नो देशको लागि खेलेका १४३ खेलमा १९ गोल गरेका छन् ।

सर्जियो रामोस : स्पेनका विश्वचर्चित डिफेन्डर सर्जियो रामोस यतिबेला ३२ वर्षका भएका छन् । कतार विश्वकपमा उनको उमेर ३६ वर्षको हुनेछ । त्यसैले बढ्दो उमेरका कारण उनी कतार विश्वकपमा खेल्न नसक्ने अड्कल काटिएको छ । साथै क्लब फुटबललाई प्राथमिकतामा राखेका कारण पनि रामोस आगामी विश्वकपमा नदेखिने पक्का भएको छ ।