नविता विजेश्वरीको ‘ब्रान्ड एम्बासडर’

नविता विजेश्वरीको ‘ब्रान्ड एम्बासडर’


विजेश्वरी माविले आफ्नो पूर्वविद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मुख्यतः विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनलाई गरिएको सम्झौता हाललाई एक वर्षको हुनेछ । अवस्था हेरेर पछि सम्झौता लम्बिन सक्ने विजेश्वरीकी प्रिन्सिपल तुलाधरले बताइन् । ‘ब्रान्ड एम्बासडर’ भएबापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउनेछ । कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरेको यो नै पहिलोपटक हो ।

नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी (हाल एसईई) सम्म अध्ययन गरेकी थिइन् । नविता लगातार सातौँपटककी राष्ट्रिय च्याम्पियन हुन् । नेपाली टेबलटेनिसको इतिहासमा सबैभन्दा बढी राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान सागकी स्वर्णधारी सिजरिन शाहको नाममा छ । सिजरिन लगातार नभई फरक समयको अन्तरालमा ८ पटक राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।

कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रित भई उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरिएको बताइन् ।

नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउँदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन् ।

टेबलटेनिस संघका अध्यक्ष वैद्यले नविता टेबलटेनिसको रोल मोडल भएको धारणा व्यक्त गर्दै विजेश्वरीको चाहनालाई पूरा गर्न नविता सफल हुने विश्वास व्यक्त गरे ।

विजेश्वरीका चेयरम्यान डा. मणिकरत्न तुलाधरले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो शुरुआत गरिएको बताउँदै सम्मानले अन्य विद्यार्थीसमेत प्रेरित हुने विश्वास व्यक्त गरेका थिए ।