के तपाईंले कहिल्यै उड्ने मोटरसाइकलको कल्पना गर्नुभएको छ ? तर, सामान्यतया कल्पना नगरिएको यस्तो मोटरबाइक अब वास्तविक रूपमै देख्न पाइने भएको छ । चेक गणराज्यमा अनुसन्धानकर्ताले उड्ने बाइकको परीक्षणसमेत गरिसकेका छन् । चेकको राजधानी प्रागमा भएको उक्त परीक्षण उडानका क्रममा जमिनबाट चार–पाँच मिटर माथि पाँच मिनेटसम्म उडेर यताउता चक्कर लगाएर उक्त मोटरसाइकलले सफलतापूर्वक जमिनमा अवतरण गरेको थियो । ९५ किलोग्राम तौलको उक्त मोटरसाइकललाई रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । उक्त बाइकको अगाडि–पछाडि र अगलबगल गरी चारैतिर ब्याट्रीबाट चल्ने प्रोपेटर फिट गरिएको छ, जसले एकप्रकारको पङ्खाको काम गर्दछ र उड्नका लागि ऊर्जा उत्पादन गर्ने काम पनि त्यसले गर्दछ ।
यस मोटरसाइकलको आविष्कारबाट दुईपाङ्ग्रे सवारीका कारण हुने सडकको भीडबाट मुक्ति मिल्ने अपेक्षा गरिए पनि क्षणक्षणमै ब्याट्री चार्ज गर्नुपर्ने समस्या रहेकाले उड्ने मोटरसाइकलको व्यावसायिक उत्पादन तत्काल हुनेमा भने आशङ्का गरिएको छ ।
कुकुरको यो बहादुरी !
फिलिपिन्सको यस छाउरीलाई भाग्यमानी मान्ने कि अभागी भन्ने विषयमा मानिसको आ–आफ्नै मत हुन सक्छ, तर आठ महिना अमेरिकामा उपचार गराएर स्वदेश फर्कंदा ‘कवाङ’ नामक यस कुकुर्नीको स्वागत भने कुनै एक वास्तविक ‘हिरो’को भन्दा भव्य रूपमा गरियो । हजारौँ डलर खर्च गरेर एउटा कुकुरको अमेरिकामा आठ–आठ महिनाको उपचार ! सुन्दा आश्चर्य लाग्नु स्वाभाविक छ, र कवाङले गरेको बहादुरी सुन्दा यसप्रति श्रद्धाभाव पनि उत्तिकै उर्लिएर आउँछ ।
गत डिसेम्बर २०११ मा कवाङ्गको मालिकका दुई स–साना बच्चा खेल्दै सडकमा पुगेछन् । विपरीत दिशाबाट वेगले आएको एक मोटरसाइकलले उनीहरूलाई ठक्कर दिन लागेको छाउरीले देखी र झटपट बच्चीहरूभन्दा अघिल्तिर आफूलाई उभ्याउन पुगी । मोटरसाइकल उसको थुतुनोमै ठक्कर दिँदै लर्बरिएर अर्कोतर्फ लाग्यो । ठक्करका कारण छाउरीको थुतुनाको माथिल्लो भाग नै उछिट्टियो, तर छाउरी कवाङको विवेक र बहादुरीका कारण दुई बच्चीको जीवन भने सानदारसँग बच्यो । यो घटनाले विश्वव्यापी चर्चा पायो र वीराङ्गना छाउरीले पनि सबैको सहानुभूति पाई । उसको उपचारका लागि ४५ मुलुकका दाताबाट २७ हजार डलर चन्दा उठ्यो र अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा उसको उपचार सम्भव भयो ।
‘पेसेवर महिला’ले झुक्याएपछि…
घटना गत साताको हो । बेलायतको वेस्ट मिडल्यान्ड्स पुलिसकहाँ एक व्यक्तिको फोन आयो । फोन गर्ने व्यक्तिको कुरा गजबको थियो । ऊ प्रहरीसमक्ष उजुरी गर्दै थियो कि एक ‘धन्दावाली महिला’ले आफूलाई छक्याई । उसका अनुसार यौनसम्पर्कका लागि आफूले सम्पर्क गरेको महिला असाध्यै नराम्री परिछ । फोनमा सम्पर्क गर्दा उसले निकै मीठो आवाजमा कुरा गर्दै आफू सुन्दर रहेको बताएकी, तर भेट्दा अत्यन्त अनाकर्षक रहेकी र यसरी झुटो कुरा गरी झुक्याएर आफ्नो समय बर्बाद पारिदिएबापत उक्त महिलालाई कारबाही हुनुपर्यो भन्ने प्रहरीसँग त्यो पुरुषको जिकिर थियो । वस्तु विक्रयसम्बन्धी नियमअनुसार महिलामाथि कारबाही हुनुपर्ने तर्क उसको थियो । बेलायतमा वस्तु विक्रय अधिनियमले उपभोक्तालाई आफूले खरिद गर्ने वस्तु बिक्रेताले दाबी गरेअनुरूपको नभए मुद्दा गर्ने अधिकार दिएको छ ।
प्रहरीसमक्ष घटनाबारे थप विवरण दिँदै उक्त व्यक्तिले आफूले पहिले नै ‘नराम्री छ्यौ भने भेट्नुअघि नै साँचो बोल है’ भनेर चेतावनी दिएको पनि बतायो । ‘जब एक होटलको कार पार्किङमा भेट भयो, ऊ त अत्यन्त अनाकर्षक रहिछे, मलाई धेरै रिस उठेपछि प्रहरीमा उजुर गर्छु भने, अनि त त्यो आइमाई मेरो कारको चाबी नै थुतेर भागी र पर पुगेर चाबी फ्याँकिदिई । के त्यस आइमाईको घर चलाइदिने ठेक्का मैले लिएको छु र ?’ यसरी मौखिक उजुरी गर्ने व्यक्तिले आफ्नो परिचय दिएको थिएन । पछि प्रहरीले फोन गर्ने उक्त व्यक्तिको विवरण लियो र ती महिलाको कुनै गल्ती नभएको भन्दै आइन्दा यसरी प्रहरीको समय बर्बाद पार्ने खालको उजुरी नदिन उसलाई लिखित पत्रमार्फत चेतावनी दिएको एजेन्सीहरूले जनाएका छन् ।
रहेनन् संसारकै ज्येष्ठ व्यक्ति
संसारका सबभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानका जिरोमोन किमुराको ११६ वर्षको उमेरमा गत बुधबार (१२ जुन २०१३ का दिन) निधन भएको हो । अन्तिम अवस्थासम्म पूर्ण स्वस्थ रहेका किमुराको निधन प्राकृतिक रूपमा भएको जापानी सरकारका तर्फबाट जारी वक्तव्यमा जनाइएको छ । किमुरालाई गत वर्ष मात्र संसारका सबभन्दा जीवित वृद्ध व्यक्तिका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको थियो । उनका सात छोराछोरी, १४ नातिनातिना, २५ पनाति–पनातिना र १३ जनाति–जनातिनाहरू छन् ।
सरकारी हुलाकको जागिरबाट सेवानिवृत्त भइसकेपछि पनि ९० वर्षको उमेरसम्म किमुरा खेतीपातीको काममा सक्रिय थिए । उनको लामो जीवनको राज हल्का आहार मुख्य रहेको बताइएको छ । स्मरण रहोस्, किमुराको निधनपछि जापानकै एक सय १५ वर्षीया मिसाको ओकावा संसारकै सबभन्दा ज्यादा उमेरकी जीवित व्यक्ति बन्नेछिन् ।
प्रतिक्रिया