कसलाई के धन्धा घरज्वाइँलाई खाने धन्धा भनेझैं ०५२ सालमा सबै कार्यकर्ता दिलोज्यानले जनयुद्धको तयारीमा लागेका बेला बाबुराम भट्टराई भने आफ्नो पद र प्रतिष्ठा पुनप्र्राप्तिका लागि प्रचण्डसँग आन्तरिक युद्धको तयारी गर्दै थिए ।
घटना यस्तो थियो— त्यसबेला पार्टीको नाम नेकपा (माओवादी) थियो र यसको सर्वोच्च पद महासचिवमा प्रचण्ड थिए, तर यो पार्टी भूमिगत थियो । पार्टीका वैधानिक कामहरू गर्न र संसद् तथा स्थानीय निकायको चुनावमा भाग लिन संयुक्त जनमोर्चा, नेपाल नामबाट निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा (माओवादी) पार्टीको डमी पार्टी पनि थियो, जसका अध्यक्ष बाबुराम थिए । अर्थात् संयुक्त जनमोर्चा, नेकपा (माओवादी) पार्टीको भ्रातृ सङ्गठन मात्र थियो जसलाई पार्टीको वैधानिक मञ्च भनिन्थ्यो । तर, चुनावमा जनमोर्चाकै नामबाट भाग लिएको र पार्टी भूमिगत भएकोले जनमोर्चा नै माउ पार्टी र यसका संयोजक बाबुराम नै पार्टीका मुख्य नेता हुन् कि जस्तो पर्ने सम्भावना थियो । जनयुद्ध नेकपा (माओवादी) पार्टीको नामबाट सुरुवात गर्न गइरहेको स्थितिमा त्यसैअनुसार पार्टीलाई र पार्टीका प्रमुख नेता प्रचण्डलाई सोही रूपमा स्थापित गर्नु सबै दृष्टिले सही थियो । पार्टी केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा पारित प्रस्तावमा भनिएको थियो, ‘वैधानिक मञ्च (जनमोर्चा) पार्टीको राजनीतिक र सङ्गठनात्मक नेतृत्व जनतामा स्थापित गर्ने साधन हुनुपर्छ । पार्टीको आह्वानलाई समर्थन गरेर मात्र विशेष कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा विशेष ध्यान दिनुपर्छ । मञ्चलाई मोर्चाको रूपमा विकास हुने स्थिति आउन दिनुहुन्न ।’ (दस्ताबेजहरू पृष्ठ ३३०)
तेस्रो विस्तारित बैठकमा जस्तो निर्णय भए पनि यथार्थमा भने जनमोर्चा पार्टीको रूपमा र नेकपा (माओवादी) पार्टी भने त्यसको डमीको रूपमा विकास भइरहेकै थियो । बाबुराम संसद्को तेस्रो ठूलो दलका नेताका रूपमा स्थापित थिए भने प्रचण्ड नेताका रूपमा स्थापित थिएनन्, अझ प्रचण्डलाई बाटोमा, चियापसलमा अरूले तपाईं कुन पार्टीको भनेर सोध्दा जनमोर्चाको भन्न बाध्य थिए र अरूले तपाईंको नेता बाबुराम हो भनेर सोध्दा हो भन्न बाध्य थिए । अनि डेरामा आएर आज यस्तो भयो भनेर पीडा मिश्रित हाँसो हाँस्न बाध्य थिए । यही समस्या वैद्य र बादललाई पनि थियो । प्रचण्डलाई बाहिरबाट बाबुरामसँगको प्रतिस्पर्धामा जित्नु थियो भने पार्टीभित्रबाट बादललाई जित्दै र मिलाएरसँगै लिएर जानुपर्ने बाध्यता थियो ।
तर, प्रचण्डले सुरुमै एक गम्भीर गल्ती गरे । बादललाई प्रचण्डले जनमोर्चाको महासचिव बनेर जनमोर्चालाई पार्टीको कमाण्डमा चल्ने वैधानिक मञ्च बनाउन र बाबुरामलाई क्रमश: जनमोर्चाबाट बिदा गर्ने प्रस्ताव राखे । तर, बादललाई बाबुरामको मातहत बसेर काम गर्न भनिएको प्रस्ताव पच्ने कुरै थिएन । बादल—बाबुरामभन्दा पहिला केन्द्रीय समितिमा पुगेकोले आफू सिनियर ठान्थे । बादलले यस कुरामा चित्त दुखाए प्रचण्डसँग । त्यसपछि प्रचण्डले अर्को प्रस्ताव राखे– बाबुरामलाई जनमोर्चाको संयोजकबाट हटाएर बादललाई जनमोर्चाको अध्यक्ष बनाउने । बादलले यस प्रस्तावलाई पनि अस्वीकार गरे । सुरुमै बादललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको भए बादलले सजिलै मान्थे । तर, प्रचण्डले खेल्न खोजेको बादलले थाहा पाइहाले । त्यसपछि बादलले पम्फा भुसाललाई जनमोर्चाको अध्यक्ष बनाएर बाबुरामलाई जनमोर्चाबाट हटाउने र पार्टीको अरू कामको जिम्मा दिने प्रस्ताव राखे । प्रचण्ड र वैद्यले पनि यो प्रस्ताव मानेपछि केन्द्रीय समितिको बैठकमा प्रचण्डले पेस गरे तथा सर्वसम्मतिले पारित भयो । बाबुरामलाई चित्तबुझेको त थिएन तर एक्लो परे बिचरा । त्यसैले मान्न बाध्य भए । पार्टीका वरिष्ठ नेताहरूले क्षेत्रीय कमाण्ड सम्हाल्ने प्रस्तावमै बाबुरामलाई मध्यकमाण्डको इन्चार्ज, पश्चिममा बादल, उपत्यकामा वैद्य र पूर्वमा गजुरेललाई बनाइए । यो प्रस्ताव हेर्दा बाबुराममाथि अन्याय भयो भन्ने ठाउँ देखिँदैन । यही निर्णयअनुरूप जनमोर्चाको राष्ट्रिय सम्मेलन भयो र पम्फालाई अध्यक्ष बनायो । तर, बाबुरामले कुरा बुझिहाले— आफू जनमोर्चाको संयोजक भएर बाहिर जनतामा स्थापित भएको प्रचण्ड, वैद्य, बादलहरूलाई पचेको रहेनछ र उनीहरू बाहिर जनतामा स्थापित हुन आफूलाई षड्यन्त्र गरी जनमोर्चाबाट हटाई पम्फालाई अध्यक्ष बनाइएको रहेछ ।
त्यसपछि बाबुरामले अर्को चाल चाले । उनले एक दिन प्रचण्डलाई भने– मैले जानेको र सक्ने जनमोर्चाको जिम्माबाट हटिहालँे, मलाई एक–दुई वर्ष बिदा दिनुपर्यो, मेरा केही किताब प्रकाशन गर्नुछ, त्यो सकाउँछु । प्रचण्डले कुरा बुझिहाले । जनआधार, जनमत, जनसमर्थन आदि त सबै जनमोर्चाकै नामबाट बनेको छ र नेता भनेर बाबुरामलाई नै चिन्छन् । तर, बाबुराम जनयुद्धको सुरुवातमा पार्टीबाट बिदामा वा बाहिर भयो भने समस्या आउन सक्छ । त्यसैले प्रचण्डले बाबुरामलाई पुन: फकाउने विचार गरे । प्रचण्डले बाबुरामलाई भने— त्यसो भए तपाईं नै जनमोर्चाको अध्यक्ष बन्नुस् ।
बाबुरामको निसाना ठीक ठाउँमा पर्यो । पम्फालाई हटाएर पुन: बाबुराम जनमोर्चाको अध्यक्ष बने । यसपल्ट सैद्धान्तिक जामा पहिर्याइयो— ‘जनमोर्चालाई पार्टीको नेतृत्वमा चल्ने सङ्घर्षको साधन र भावी सत्ताको भ्रुणका रूपमा विकास गरेर लैजाने पार्टीको निर्णय सैद्धान्तिक रूपले सही र दूरगामी महत्वको छ ।…. जनयुद्धको थालनीको प्रक्रियासँगै पार्टीका अपिल र अन्य क्रियाकलापलाई जनमोर्चाले समर्थन गर्ने र पार्टीलाई आमजनतामा स्थापित गर्न मोर्चाका तर्फबाट अधिकतम जोड लगाइनेछ ।’ (दस्ताबेजहरू पृष्ठ ३४६) यसको अर्थ थियो— प्रचण्डको नेतृत्वमा सुरु गरिन लागेको जनयुद्धलाई बाबुरामले समर्थन गर्ने र प्रचण्डलाई जनतामा स्थापित गर्न मोर्चाका तर्फबाट बाबुरामले अधिकतम जोड लगाउने । यसबापत प्रचण्डले बाबुरामलाई पुन: जनमोर्चाको अध्यक्ष बनाइदिने ।
प्रचण्ड र बाबुरामको सम्झौता भयो । अब रिसाउने पालो बादल र पम्फाको थियो । बादलले भन्न थाले— यो पिँध नभएको लोटाजस्तो प्रचण्डेलाई मेरो शक्ति देखाइदिन्छु । पम्फाले भन्न थालिन्— मलाई महिला भनेर हेपेका हुन् । बाबुरामसँग घुँडा टेकेर मलाई बेबकुफ बनाउने प्रचण्डसँग म पनि बदला लिन्छु । अब अघोषित रूपमा गुटबन्दी सुरु भयो ।
जनयुद्धको पहिलो योजना (सुरुवातको योजना) बनाउन बसेको चर्चित गोरखा बैठकमा बादल र पम्फा मिलेर प्रचण्डसँग बदला लिए । प्रचण्डले जनयुद्ध कसरी सुरु गर्ने भन्नेबारे लिखित प्रस्ताव पेस गरिसकेपछि नेतृत्वलाई अर्थात् प्रचण्ड स्वयम्लाई जनतामा स्थापित गर्ने प्रस्ताव पनि राखे । पार्टीका प्रमुख नेता को हो भन्नेबारे भ्रम रहेकाले मुख्य नेता प्रचण्ड नै हुन् भनेर अरू सबै नेताले भनिदिनुपर्यो भन्ने प्रचण्डको आशय थियो । जनयुद्धजस्तो नितान्त नयाँ र गम्भीर प्रक्रियामा जानभन्दा अगाडि पार्टीका मुख्य नेता नै को हो को हो भन्ने भ्रम चिर्नु आवश्यक र जायज दुवै थियो । हरिबोल गजुरेलले मुख्य नेता को हो भन्ने कुरा वैद्य र बादलले भन्नुपर्ने भनेर तीनजनालाई लडाउने दाउ फाले । वैद्यले मुख्य नेता प्रचण्ड नै हो भन्दै प्रचण्डको चाकडी नै गरेर आफ्नो गल्ती र अपराध ढाकछोप गरिदिएको कामका लागि ब्याजसहित प्रचण्डको ऋण तिरे । त्यसपछि बादलले भन्न थाले— नेतृत्वको (प्रचण्डको) यस्तो सोचबाट नै प्रतिक्रान्ति सुरु हुन सक्दछ । पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने सङ्गठन हो । नेतृत्वमा व्यक्तिवाद सुरु भयो । पार्टी यहीँबाट ध्वस्त हुन थाल्छ । आदि–इत्यादि । बाबुरामलाई बडो स्वाद आइरहेको थियो । उनले भने कि खै यो नेतृत्वको प्रश्न भनेको गम्भीर विषय हो, अलि गम्भीर अध्ययन गरेर मात्र निर्णय लिनुपर्ने हो कि ?
बिचरा प्रचण्ड कालोनीलो अनुहार लिएर प्रस्ताव फिर्ता लिएजस्तै गर्न बाध्य भए । मुख्य नेतृत्वसम्बन्धी सरल र सही धारणा के हो त ? यदि नेतृत्व सही छ भने सबै सहयोद्धा, कार्यकर्ता र जनताले समर्थन र पुष्पवृष्टि गर्ने, यदि नेतृत्व गलत छ र बद्मासी गर्न लागेको छ भने विरोध भण्डाफोर र बमवर्षा गर्ने— यो नै माक्र्सवादी धारणा हो जुन सबैतिर बिनाअपवाद लागू हुन्छ । तर, नेतृत्वले राम्रो गर्दा राम्रो भन्ने र स्थापित गर्ने तथा नराम्रो गर्दा नराम्रो गरे भन्दै समयमै भण्डाफोर गर्ने र विस्थापित गर्नेभन्दा पनि नेतृत्वको विषयमा चालबाजी, कूटनीति, षड्यन्त्रको शैली प्रयोग गर्ने यी चारैजना नेताहरूका कारण पछिसम्म गम्भीर समस्या आइरहे । माथिका नेताहरूले साथ नदिए पनि युवानेता कार्यकर्ताले प्रचण्डलाई साथ दिएको हुनाले जनयुद्ध सुरुवातको सहज वातावरण बन्न गयो ।
प्रतिक्रिया