एसियाडमा जाने खेलाडीलाई न्युट्रिसनबारे जानकारी

एसियाडमा जाने खेलाडीलाई न्युट्रिसनबारे जानकारी


इन्डोनेसियाको राजधानी जकार्तामा आगामी महिनादेखि सञ्चालन हुन गइरहेको १८औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई न्युट्रिसन (पोषण) सम्बन्धी जानकारी दिइएको छ । एसियाली खेलकुदमा जान बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई असार २१ गते बिहीबार पोखरामा न्युट्रिसनसम्बन्धी जानकारी दिइएको हो ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षक गरी २१ जनालगायत स्थानीय प्रशिक्षकको समेत सहभागिता रहेको थियो ।

पोषणविद् कृष्णप्रसाद लम्सालले सो अवसरमा खेलमा पोषण शैलीले निकै नै प्रभाव पार्ने बताए । खेलमा पोषण शैलीले पदकको सम्भावनालाई समेत प्रभाव पार्ने हुनाले यो वास्तविकता नीतिनिर्माता तहसम्म बुझ्न आवश्यक रहेको बताए । खेलमा जस्तै खेलाडीले आफ्नो पोषणयुक्त आहारमा समेत ध्यान पु¥याउनुपर्ने कुरामा उनले जोड दिएका थिए ।

परिषद्का उपनिर्देशक बाबुराम नेपालले एसियाडका लागि तयारीमा रहेका विभिन्न खेलका १ सय ८१ जनालाई पोषणसम्बन्धी जानकारी दिइएको बताए । उनले एसियाडका लागि तयारीमा रहेका खेलाडीलाई यो कार्यक्रमले सहयोग पुग्ने बताए । साउनदेखि सबै खेलाडी वैदेशिक प्रशिक्षणमा जाने भएकाले पनि यो जानकारी प्रभावकारी हुने उनको भनाइ छ ।

परिषद्ले विराटनगर, काठमाडौं, महेन्द्रनगर र पोखरामा गरी चार ठाउँमा उक्त प्रशिक्षण दिएको हो । यी चारै स्थानमा एसियाडमा जाने खेलाडीबन्द प्रशिक्षणमा व्यस्त छन् । पोखरामा कराते र प्याराग्लाइडिङका खेलाडी बन्द प्रशिक्षणमा छन् ।