विश्वविद्यालय खेलकुदमा २ सय ५६ खेलाडी प्रतिस्पर्धा गर्दै

विश्वविद्यालय खेलकुदमा २ सय ५६ खेलाडी प्रतिस्पर्धा गर्दै


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदकोे राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगितामा समावेश विभिन्न ४ खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रतियोगितामा पुरुष, महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ खेल समावेश गरिएको छ । तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको टेबलटेनिसतर्फ पुरुष सिंगल्समा त्रिभुवन विश्वविद्यालय (टीयू) का द्वय टेन्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेन्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई ४–३ तथा नारायणले केयू सन्दीप भुर्तेललाई ४–१ ले पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।

त्यस्तै महिला सिंगल्समा केयूकी नम्रता ढकालले टीयूकी ज्योति खनाललाई ४–१ तथा केयूकी रेजशा खोटियाले टीयूकी सिजा अर्याललाई ४–० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरे ।

भलिबलको पुरुष र महिला दुवैमा टीयू सेमिफाइनलमा पुगेको छ । पुरुषमा टीयूले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । महिलामा टीयूले केयूलाई २५–२, २५–६ र २५–१३ को सीधा सेटमा पराजित गरेको थियो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ को सोझो सेटमा पन्छाएका थिए ।

त्यस्तै, ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टीयूका पूर्णबहादुर थापा क्वार्टरफाइनलमा पुगेका छन् ।

कीर्तिपुरस्थित टीयू हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलकी हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्यले क्वार्टरफाइनलमा स्थान बनाए ।