राखेपद्वारा रोकायलाई एक लाखको आर्थिक सहयोग

राखेपद्वारा रोकायलाई एक लाखको आर्थिक सहयोग


गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल पूर्वधावक हरिबहादुर रोकायलाई स्वास्थ्योपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले रोकायलाई उक्त सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट रोकायलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले लोकन्थलीमा रहेका रोकायको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा सदस्यसचिव विष्टले रोकायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोगका लागि पनि के गर्न सकिन्छ त्यसमा विचार गर्ने बताए ।

जुम्ला खलंगा बजारनिवासी ५४ वर्षीय रोकाय राखेपअन्तर्गत जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुन् । असार २ गते अचानक अस्वस्थ भएपछि रोकायलाई जुम्लाबाट उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल ल्याइएको थियो । चार दिनअघि डिस्चार्ज भएका रोकायको नशामा कमजोरी भएको बताइएको छ ।

रोकाय विश्वको अग्लो भागमा हुने एभरेष्ट म्याराथनका लगातार तीनपटकका विजेता हुन् । रोकायले ४ दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग), २ एसियाली खेलकुद र २ ओलम्पिक गेम्समा नेपालको प्रतिनिधित्व गरेका छन् । रोकायले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्समा सहभागिता जनाई २ स्वर्ण, १ रजत र ४ कांस्य जितेका छन् ।

एथलेटिक्सको ५ हजार र १० हजार मिटर दौडबाट करिअर थालेका रोकायले आफ्नो स्वास्थ्यमा अहिले धेरै सुधार आइरहेको बताए ।