‘महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ हिमालपारिको जिल्ला मुस्ताङमा महिला खेलाडीका लागि तीनदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदमा महिला सहभागिता बढाउने तथा महिला हिंसा न्यूनीकरण उद्देश्यले यो कार्यक्रम शुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रयि खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार परिषद्ले सुरु गरेको यो कार्यक्रम ७ प्रदेशका ४१ जिल्लामा सञ्चालित भइरहेको छ । विशेषगरी यो कार्यक्रममा खेलकुदमा महिला खेलाडी अभिवृद्धि गर्ने तथा उनीहरूलाई सैद्धान्तिक तथा आत्मरक्षासम्बन्धी ज्ञान दिइने उद्देश्यले आयोजना गरिएको श्रेष्ठले बताए । प्रदेश ४ मा भने मुस्ताङलाई छनोट गरिएको उनले बताए ।
तीनदिने कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति मुस्ताङका अध्यक्ष छिरिङ ल्याहमु गुरुङले महिलाको सशक्तीकरणका लागि यो कार्यक्रमले ऊर्जा मिल्ने बताइन् । उनले यस्ता कार्यक्रमले महिला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बताइन् ।
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य यामकुमारी गुरुङले परिषद्ले यो वर्ष विशेषगरी महिला खेलाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै महिलाको सहभागिताले नै खेलकुदले नयाँ गति लिने बताइन् ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष श्रेष्ठले तीन दिनसम्म सिकेको सीपलाई आफ्नो गाउँ–ठाउँमा अन्यलाई पनि सिकाउन सहभागीलाई आग्रह गरेका थिए । परिषद्ले शुरु गरेको यो कार्यक्रमले नेपालमा महिला खेलाडी उत्पादन ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।
जिल्ला खेलकुद विकास समिति मुस्ताङका अध्यक्ष भूपेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीलगायतले महिला विकासबारेमा आफ्नो धारणा राखेका थिए ।
तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा सहभागीलाई नेपाली सेनाका कराते प्रशिक्षकद्वय छत्रबहादुर क्षेत्री र बाबुराम अधिकारीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा ४४ जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया