विश्वविद्यालय टेबुलटेनिसमा नारायण र रेज्शालाई स्वर्ण

विश्वविद्यालय टेबुलटेनिसमा नारायण र रेज्शालाई स्वर्ण


नारायण घिमिरे र रेज्शा खोतेजाले तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबलटेनिसतर्फ स्वर्ण पदक जितेका छन् । दुवै काठमाडौं विश्वविद्यालय (केयू) का हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा नारायणले केयूकै टेन्डी शेर्पालाई ११–७, ११–९, १०–१२, ११–५, ४–११, ८–११ र ११–६ को सेटमा पराजित गरेका हुन् । महिला फाइनलमा रेज्शाले आफ्नै विश्वविद्यालयकी नम्रता ढकाललाई १–११, ५–११, ११–८, १३–११ र ११–५ को सेटमा पराजित गरेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा नारायण र रेज्शाले डबल्समा पनि स्वर्ण हात पारेका छन् । फाइनलमा नारायण र टेन्डीको जोडीले त्रिभुवन विश्वविद्यालय (टीयू) का करण राई र सन्दीप भुर्तेलको जोडीलाई ९–११, ११–८, ११–३ र ११–६ ले पाखा लगाएका थिए । रेज्शा र नम्रताको जोडीले केयूका ज्योति खनाल र सिजा अर्यालको जोडीलाई ११–८, ११–८ र ११–६ को सीधा सेटमा फाइनलमा हराएका थिए ।

विजेतालाई राखेपका सदस्य सुदिल शाही, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले पुरस्कृत गरेका थिए ।

भलिबल ः दुवै फाइनलमा टीयू र सुप
भलिबलको पुरुष, महिला दुवैमा टीयू र सुदूरपश्चिमाञ्चल उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुष सेमिफाइनलमा टीयूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई २५–२०, २७–२५ र २५–१७ तथा सुदूरपश्चिमाञ्चलले केयूलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै महिलामा टीयूले मध्यपश्चिमाञ्चललाई २५–८, २५–१८ र २५–१४ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१५ ले हराए ।

ब्याडमिन्टन ः जीवन र पूर्ण फाइनलमा
ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य र टीयूका पूर्णबहादुर थापा फाइनलमा प्रवेश गरेका छन । जीवनले केयूका विष्णु पाण्डेलाई २१–८ र २१–१२ तथा पूर्णले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्टलाई २१–१३ र २१–३ को सोझो सेटमा पराजित गरेका थिए ।

कीर्तिपुरमा भएको प्रतियोगिताको महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले सुदूरपश्चिमाञ्चलकी हेमा जोशीलाई २१–५ र २१–५ तथा टीयूकी तारा आलेमगरले केयूकी आस्मा भट्टराईलाई २१–१३ र २१–६ को सीधा सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

पुरुष डबल्समा टीयूका जीवन र पूर्णको जोडी तथा कृषिका प्रशान्त र लक्ष्मी जोडीले उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको महिलामा टीयूका तारा र सीताको जोडी तथा केयूका आस्मा र शान्ता अर्यालको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।