त्रिभुवन विश्वविद्यालय (टीयू) ले तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उपाधि जितेको छ । टीयू ९ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै ४ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा काठमाडौं विश्वविद्यालय (केयू) दोस्रो भयो । केयूले २ स्वर्ण, ४ रजत र ५ कास्य हात पारेको थियो । २ रजत र ३ कास्य जितेको सुदूरपश्चिमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो । विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार हात पारेको थियो ।
भलिबल : टीयूलाई दोहोरो उपाधि
भलिबलको पुरुष तथा महिला दुवैमा टीयूले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष फाइनलमा टीयूले सुदूरपश्चिमाञ्चललाई २३–२५, १६–२५, २५–२१, २५–२० र १६–१४ ले पराजित गरेको हो । त्यस्तै महिला फाइनलमा पनि टीयूले सुदूरपश्चिमाञ्चललाई नै २५–२०, २७–२५ र २५–१७ को सोझो सेटमा हराएको थियो । दुवैमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय तेस्रो स्थानमा सीमित भएको थियो ।
ब्याडमिन्टन : टीयूको क्लिनस्विप
ब्याडमिन्टनमा समावेश चार स्पर्धामा टीयूले सबैमा स्वर्ण जित्दै क्लिनस्विप गरेको छ । पुरुष सिंगल्स फाइनलमा टीयूका जीवन आचार्यले टीयूकै पूर्णबहादुर थापालाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गरेका थिए । महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले टीयूकै तारा ओल मगरलाई २१–१४ र २१–६ को सीधा सेटमा पराजित गरेकी थिइन् ।

पुरुष डबल्स फाइनलमा टीयूका जीवन र पूर्णको जोडीले कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रशान्त भट्ट र लक्ष्मीनारायण ओझाको जोडीलाई २१–१५ र २१–११ को सोझो सेटमा पाखा लगाएका थिए । सो स्पर्धाको महिलामा टीयूका सीता र ताराको जोडीले स्वर्ण हात पारका थिए ।
बुद्धिचाल : टीयू नै पहिलो
बुद्धिचालमा पनि टीयूले १० अंक जोड्दै पहिलो स्थान हासिल गरेको छ । केयू दोस्रो तथा सुदूरपश्चिमाञ्चल तेस्रो भए । विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, सदस्य प्रा.डा. अरविन्द श्रीवास्तव र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पुरस्कार प्रदान गरेका थिए ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडीले सहभागिता जनाएका थिए । भलिबल, ब्याडमिन्टन, बुद्धिचाल र टेबलटेनिसमा प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया