पारा साइक्लिङको उपाधि युवक र रामलाई

पारा साइक्लिङको उपाधि युवक र रामलाई


युवक लामा र रामचन्द्र काफ्लेले प्रथम बृहत् राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा स्वर्ण जितेका छन् । युवकले खुट्टाको समस्या तथा रामले हातको समस्या भएको समूहमा स्वर्ण जितेका हुन् । दुवै स्पर्धाको दूरी ५ किलोमिटर रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगितामा युवकले निर्धारित दूरी १२ मिनेट ४४ सेकेन्डमा पूरा गरेका थिए । त्यस्तै, रविन मानन्धर दोस्रो तथा दीपेश कार्की तेस्रो भए ।

पुल्चोक इन्जिनियरिङ कलेजको हातामा भएको प्रतियोगितामा निर्धारित दूरी तय गर्न रामले १२ मिनेट २८ सेकेन्ड समय खर्चेका थिए । नरेशराज भट्टराई दोस्रो तथा विश्वबन्धु तिमल्सिना तेस्रो स्थानमा रहे ।

विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा १९ खेलाडी सहभागी थिए ।