पछिल्लोपटक सन् २००२ मा ब्राजिलले विश्वकप फुटबलको उपाधि जितेको थियो । उक्त विश्वकपको आयोजना पहिलोपटक एसियाली राष्ट्र दक्षिण कोरिया र जापानले संयुक्त रूपमा अयोजना गरेका थिए । त्यसपछिका विश्वकपमा युरोपेली टिमहरूले आफ्नो कब्जा जमाएका छन् ।
रसियामा सञ्चालन भइरहेको विश्वकपमा पनि युरोपेली राष्ट्रले कब्जा जमाउने पक्का भइसकेको छ । यसभन्दा अघि सन् २००६ को विश्वकप इटली, २०१० को विश्वकप स्पेन र २०१४ को विश्वकप जर्मनी (युरोपकै राष्ट्र) ले जितेका थिए ।
सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना सेमिफाइनलमा पुगे पनि यो विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी राष्ट्र सेमिफाइनलमा पुग्न सकेन । सन् १९८२ देखिको विश्वकपको सेमिफाइनल समीकरणको विश्लेषण गर्दा ४० टिमहरूले अन्तिम चारमा स्थान बनाएका छन् ।
जसमा ३१ युरोपका राष्ट्रहरू पर्नुले पनि विश्वकपमा युरोपेली राष्ट्रले कत्तिको धाक जमाएका छन् त्यसै प्रस्ट हुन्छ । यी संस्करणहरूमा दक्षिण अमेरिकाका ८ राष्ट्र सेमिफाइनलमा पुगे पनि युरोपको दाँजोमा यो उपस्थिति निकै न्यून हो । त्यस्तै एसियाको तर्फबाट दक्षिण कोरिया पहिलोपटक सेमिफाइनलमा पुगेको थियो । यो अवधिमा अफ्रिकाबाट भने कुनै पनि राष्ट्र सेमिफाइनलमा पुग्न सफल भएका छैनन् ।
प्रतिक्रिया