विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेल आयोजक रसिया र क्रोएसियाबीच भएको थियो । उक्त खेल हेर्न रसियाका प्रधानमन्त्री दिमित्री मेदवेभेद र क्रोएसियाकी पहिलो महिला राष्ट्रपति कोलिन्डा ग्रेबर किटारोबिक रंगशालामा पुगेका थिए । दुवैजनाले भीआईपी बक्समा बसेर यो खेल हेरेका थिए ।
निकै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण रहेको यो खेल निर्धारित समयसम्म १–१ को बराबरीमा टुङ्गिएको थियो । रसियाले पहिलो गोल गर्दै अग्रता लिए पनि क्रोएसियाले खेलमा फर्कंदै १–१ को बराबरीमा ल्याएको थियो । यसपछि अतिरिक्त समयमा गएको खेलमा क्रोएसियाले दोस्रो गोल गर्दै अग्रता लिए पनि रसियाले दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । जसमा क्रोएसियाले रसियालाई ४–३ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
क्रोएसियाले गोल गर्दा आफ्नो सिटबाट उठेर ताली बजाउँदै आफ्नो टिमलाई हौसला प्रदान गरेको राष्ट्रपति कोलिन्डाको तस्बिर अहिले भाइरल बन्न पुगेको छ । रसियाका प्रधानमन्त्रीको सामु राष्ट्रपति कोलिन्डाले आफ्नो टिमको हौसला बढाउन गरेको खुसी प्रकट रसियाका प्रधानमन्त्रीका लागि भने नुनचुक दलेकोजस्तै बनेको थियो । यसर्थमा क्रोएसियाको प्रतिद्वन्द्वी अन्य कुनै राष्ट्र नभै रसिया थियो । रसिया क्रोएसियालाई पराजित गरेर सन् १९६६ पछि पहिलोपटक सेमिफाइनलमा पुग्ने दाउमा थियो । तर, त्यो सपना क्रोएसियाले चकनाचुर पारिदियो ।
फिफा अध्यक्ष जियानी इनफान्तिनोनजिकै बसेका रसियाका प्रधानमन्त्री मेदवेभेदलाई राष्ट्रपति कोलिन्डाको प्रस्तुतिले पीडा प्रदान गरे पनि उनी मुस्कुराउन बाध्य भएका थिए । किनकि २–१ ले अग्रता लिइरहेको रसियासँग क्रोएसियाले बराबरी गोल गरेको थियो । क्रोएसियाले अतिरिक्त समयको अन्तिममा गरेको गोलबाट उत्तेजित भएकी राष्ट्रपति कोलिन्डाले सिटबाट उठेर उफ्रिँदै ताली बजाउँदै आफ्नो टिमलाई धन्यवाद दिएकी थिइन् ।
क्रोएसियाले अब असार २७ गते बुधबार इंग्ल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया