जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित

जापानी प्रधानमन्त्रीको भ्रमण स्थगित


जापानी प्रधानमन्त्री सिन्जो आबेले देशमा वर्षा र बाढीबाट भएको क्षतिको कारण देखाउँदै तय भएको आफ्नो विदेश भ्रमण रोकेका छन् । उनले बुधबारदेखि बेल्जियम, फ्रान्स, साउदी अरेबिया र इजिप्ट गरी चार देशको भ्रमण गर्न लागेका थिए।

जापानमा बाढी र पहिरोको प्रकोप जारी नै रहेको र यसका कारण देशका विभिन्न भू–भागमा ठूलो क्षति भएको भन्दै प्रधानमन्त्री आबेले सो भ्रमण स्थगित गरिएको जानकारी दिएका एएफपीले जनाएको छ ।

प्रधानमन्त्री आबेले आज पनि जापानी अधिकारीहरुलाई बाढी र पहिरोको प्रकोप न्युनीकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकाय र सबै उद्धारकर्मीहरुलाई आदेश दिएका छन् ।

ज्ञात रहोस्, जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ ।

उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् ।

सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ ।

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।