ककटेली धार्मिकता र मूल धर्म

ककटेली धार्मिकता र मूल धर्म


म धर्म, संस्कृति र परम्पराको जगेर्नाको पक्षमा छु, तर कुरीति, अन्धविश्वास र अविवेकी अभ्यासको पक्षमा छैन । धर्म र संस्कृतिले मान्छेलाई आफ्नो इतिहास, पहिचान, सभ्यता र मूल्यबोधसँग जोड्छन्; तर कुरीति र अन्धविश्वासले त्यही धर्म-संस्कृतिलाई कमजोर बनाउँछन् । कठिनाइ के हो भने धर्म, संस्कृति, परम्परा, कुरीति र अन्धविश्वासलाई छुट्याउनु सधैँ सजिलो हुँदैन । धेरैपटक यी कुरा एउटै वस्त्रमा बेरिएर आउँछन् । तर विवेक, शास्त्रीय दृष्टि, मानवीयता र समयबोधका आधारमा हेर्ने हो भने यिनलाई छुट्याउन सकिन्छ ।

धर्म-संस्कृति नरहे पहिचान कमजोर हुन्छ, सभ्यताको निरन्तरता टुट्छ र समाज आत्महीनतातिर धकेलिन्छ। तर कुरीति र अन्धविश्वास नरहे धर्म-संस्कृति झन् स्वस्थ, सबल र जीवनोपयोगी हुन्छन् । उदाहरणका लागि, व्रत, पूजा, जप, ध्यान, तीर्थ, संस्कार, पर्व र उत्सवले मान्छेलाई समुदाय, अनुशासन, करुणा, संयम र कृतज्ञतासँग जोड्न सक्छन् । तर जातीय अपमान, छुवाछूत, दाइजो, छाउपडी, बालविवाह वा रोगको उपचार छोडेर केवल टुनामुनामा भर पर्ने व्यवहार धर्म होइनन् । ती धर्मका नाममा पलाएका अविवेकी विकृति हुन् । यस्ता विकृतिको आलोचना गर्नु धर्मविरोध होइन, बरु धर्मको शुद्ध मानवीय पक्षलाई बचाउने प्रयास हो ।

विश्वका हरेक समाजमा जीवन र जगतबारे आफ्नै बुझाइ हुन्छ । सभ्यताको विकाससँगै जीवनशैली, रहनसहन, खानपान, लवाइखवाइ, पर्व, संगीत, कला, भाषा र विश्वासका अनेक रूप विकसित हुन्छन् । संस्कृतिको राम्रो पक्ष के हो भने यो स्थिर ढुंगो होइन, चलायमान नदी हो । नदीले बाटो बदल्छ, किनार छोइरहन्छ, नयाँ जलधारा ग्रहण गर्छ, तर आफ्नो प्रवाह पनि जोगाइरहन्छ। संस्कृति पनि त्यस्तै हो : यसमा राम्रा कुरा थपिन्छन्, नराम्रा कुरा छुट्दै जान्छन् । त्यसैले संस्कृति मानवीय चाहना, आवश्यकता, संघर्ष, स्मृति र अस्तित्वको ऐना हो ।

वैदिक संस्कृति पनि यसै अर्थमा वैदिक मान्छेहरूको इतिहास, अनुभव, चाहना, आवश्यकता र आध्यात्मिक खोजको ऐना हो । वेद, उपनिषद्, पुराण, स्मृति, दर्शन, कला, यज्ञ, संस्कार, पर्व र लोकपरम्पराको संयुक्त प्रवाहबाट यसको विकास भएको हो । यही कुरा अन्य सभ्यतामा पनि लागू हुन्छ। कुनै पनि संस्कृति एकै दिनमा तयार हुँदैन । हजारौँ वर्षको साधना, प्रयोग, संघर्ष, परिवर्तन र पुनर्निर्माणबाट बनेको हुन्छ ।

आजको समय पहिलेभन्दा धेरै फरक छ । इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, अन्तर्राष्ट्रिय श्रम-प्रवास, उच्च शिक्षा र पर्यटनले संसारलाई सानो बनाएको छ। अहिले काठमाडौंको घरभित्र अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया र युरोप पसिसकेका छन्  । अनि अमेरिका, बेलायत वा अष्ट्रेलियाका घरभित्र दशैँ, तिहार, तीज, पूजापाठ, कुलदेवता, पितृश्राद्ध र नेपाली, संस्कृत भाषा बाँचिरहेका छन् । नेपाली युवाले मन्दिरमा टीका लगाउँछ, तर विवाहमा डीजे पनि बजाउँछ । घरमा संस्कृत मन्त्रसहित विवाह हुन्छ, तर भोज होटल र ब्याङ्केटमा हुन्छ । योग पश्चिमी विश्वविद्यालयमा पढाइन्छ, ध्यान मोबाइल एपमार्फत सिकाइन्छ, गीता व्यवस्थापन र मनोविज्ञानका कक्षामा उद्धृत हुन्छ । यही हो आजको समय-सन्दर्भ : संस्कृतिहरू अब एकअर्काबाट पूर्ण रूपमा अलग रहन सक्दैनन् ।

यही सम्पर्कले संस्कृति र सभ्यतालाई ‘ककटेली’ बनाइरहेको छ। ककटेली भन्नाले यहाँ मिश्रित, आधा यता आधा उता, केही शास्त्रीय, केही आधुनिक, केही बजारमुखी र केही भावनात्मक रूपमा जोडिएको धार्मिकता बुझ्नुपर्छ । आजको संसारमा पूर्ण सांस्कृतिक शुद्धताको दावा गर्नु धेरै हदसम्म सैद्धान्तिक कुरा मात्र हुन पुगेको छ। शुद्धताको नारा लगाउनेहरू पनि प्रायः आधुनिक मञ्च, डिजिटल प्रचार, अंग्रेजी भाषण, ब्रान्डेड आध्यात्मिकता, महँगा शिविर, अन्तर्राष्ट्रिय नेटवर्क र बजार-व्यवस्थाकै साधन प्रयोग गरिरहेका हुन्छन् । त्यसैले प्रश्न संस्कृति बदलिन्छ कि बदलिँदैन भन्ने होइन ।  प्रश्न हो- बदलिँदा मूल आत्मा जोगिन्छ कि हराउँछ?

वैदिक संस्कृतिलाई ‘सनातन’ भनिन्छ । यो केवल भावुक नारा होइन, गहिरो सभ्यतागत विश्वास हो । सनातनको अर्थ कुनै बाहिरी रूप कहिल्यै नबदलिनु होइन । सनातनको अर्थ हो- मूल सत्य, जीवनबोध, ऋत, धर्म, करुणा, आत्मसंयम, यज्ञभाव, कर्तव्य, मुक्तिको खोज र जीवनको पवित्रतामा आधारित निरन्तरता। संस्कृतिका बाहिरी रूप बदलिन सक्छन्, तर मूल तत्व जोगिनुपर्छ । बालकृष्ण समले ‘नियमित आकस्मिकता’को दार्शनिक अवधारणा अघि सार्दा पनि परिवर्तन र निरन्तरताको यही द्वन्द्वात्मक सम्बन्धलाई संकेत गरेका छन् । जीवनमा आकस्मिकता छ, तर त्यसभित्र पनि कुनै गहिरो नियमितता छ; संस्कृति बदलिन्छ, तर त्यसको मूल जीवनधारा निरन्तर रहन सक्छ ।

भारतवर्षमा जन्मेका हामीले बुझ्नैपर्ने कुरा के हो भने हाम्रो सनातन पहिचान वैदिक, बौद्ध, जैन, शैव, वैष्णव, शाक्त, स्मार्त, तान्त्रिक, लोकधार्मिक र गुरु-परम्पराको संयुक्त जीवन्तताबाट बनेको हो । वेद, उपनिषद्, रामायण, महाभारत, गीता, पुराण, आगम, दर्शन, तीर्थ, संस्कार र लोककथाले निर्माण गरेको सभ्यता नष्ट हुनु भनेको केवल धार्मिक विश्वास हराउनु होइन । भाषा, कला, संगीत, नृत्य, भोजन, पारिवारिक संरचना, उत्सव, मृत्यु-संस्कार, जीवनदृष्टि र सामूहिक स्मृति नष्ट हुनु हो । त्यसैले धर्म-संस्कृतिका पक्षमा केवल लेखेर, बोलेर वा सामाजिक सञ्जालमा नारा लगाएर हुँदैन । संस्कृतिको बाहक बन्नुपर्छ ।

बाहक बन्नु भनेको केवल बाहिरी चिन्ह लगाउनु मात्र होइन, तर बाहिरी चिन्हलाई पनि तुच्छ ठान्नु हुँदैन । तिलक, जनै, साडी, धोती, शिखा, नमस्कार, मन्त्र, संस्कृत श्लोक, पूजा, व्रत, पर्व, कुलपरम्परा, मातापिताप्रति आदर, गुरु-सम्मान, अतिथि-सत्कार – यी सबै सांस्कृतिक पहिचानका दृश्य रूप हुन् । सडकमा हिँड्दा, घरमा बस्दा, विद्यालयमा पढाउँदा, कार्यालयमा काम गर्दा वा सामाजिक जीवनमा सहभागी हुँदा हाम्रो जीवनले नै हाम्रो सांस्कृतिक पहिचान बोल्न सक्नुपर्छ। यो अन्धविश्वास होइन अपितु यो पहिचानको निरन्तरता हो । तर यही पहिचानका नाममा अहंकार, घृणा, छुवाछूत वा अरूलाई अपमान गर्ने प्रवृत्ति जन्मिन्छ भने त्यो धर्म होइन, धर्मको विकृति हो ।

आज  वैदिक धर्म-संस्कृतिको वकालत गर्नेहरू धेरै छन् । तर वकालत गर्नेहरू सबैले धार्मिक वा सांस्कृतिक जीवन अनुशरण गरेका छन् भन्ने छैन । हिन्दु समाजको जटिल पक्ष यही हो- कसैले धर्मको ठूलो भाषण गर्छ, तर निजी जीवनमा धर्मको अनुशासन, सत्य, संयम, करुणा, अध्ययन र साधनाबाट टाढा हुन्छ । कतिपयले वैदिक संस्कृतिको नाम लिन्छन्, तर शास्त्र, परम्परा, गुरु-शिष्य परम्परा र पुरोहितीय साधनालाई तिरस्कार गर्छन् । यस्ता व्यक्तिहरू आधुनिक भाषामा आध्यात्मिकता बेच्छन्, तर मूल संस्कृतिको मर्म कमजोर बनाउँछन् । तिनको भाषण आकर्षक हुन्छ, मञ्च भव्य हुन्छ, अंग्रेजी प्रभावशाली हुन्छ, प्रस्तुति आधुनिक हुन्छ, तर शास्त्रीय आधार कमजोर हुन्छ। यही ककटेली धार्मिकता आज बजार र मिडियामा लोकप्रिय हुँदै गएको छ । 

यस्ता ककटेली गुरुहरूको एउटा विशेषता के देखिन्छ भने उनीहरू परम्परागत रूपमा शास्त्रीय विधिअनुसार धर्म, कर्म, संस्कार र साधना गर्ने विनम्र पुरोहित, आचार्य, साधक र गृहस्थलाई ‘अन्धविश्वासी’, ‘कर्मकाण्डी’, ‘पुरातनवादी’ वा ‘कुरीतिका वाहक’ भनेर आलोचना गर्छन् । निश्चय पनि कर्मकाण्डभित्र सुधार आवश्यक छ। कतिपय ठाउँमा पुरोहितहरूले पनि समयअनुकूल शिक्षा, शुचिता, भाषा, अर्थव्याख्या र सामाजिक उत्तरदायित्व बढाउनुपर्छ । तर सबै परम्परागत गुरुलाई अन्धविश्वासी ठहर गर्नु बौद्धिक अन्याय हो । गाउँ-शहरका हजारौँ सामान्य पुरोहित, पाठक, भागवतवाचक, वेदपाठी, पुजारी, गुरु, बौद्ध भिक्षु, जैन साधु र गृहस्थ साधकहरूले नै वास्तवमा संस्कृतिको दैनिक जीवन जोगाएका छन् । ठूला मञ्चमा चर्को भाषण गर्नेहरूभन्दा घरघरमा कर्मकाण्डका माध्यमबाट संस्कार गराउने, मन्त्र सिकाउने, पितृसंस्कार जोगाउने, पर्वको अर्थ सम्झाउने र बालबालिकालाई धर्मकथासँग जोड्ने साधारण व्यक्ति नै संस्कृतिका वास्तविक रक्षक हुन् ।

अब्राहमिक परम्पराहरू – यहूदी, इसाई र इस्लामी पन्थहरू – विश्वभरि फैलिएका छन्। तर एउटै पन्थभित्र पनि संस्कृति एउटै छैन । अरबको इस्लामी संस्कृति, इन्डोनेसियाको मुस्लिम संस्कृति, अफ्रिकी मुस्लिम समाज, भारतीय मुस्लिम समाज र युरोपेली मुस्लिम समाजमा धेरै भिन्नता छन् । इसाई पन्थभित्र पनि रोमन क्याथोलिक, प्रोटेस्टेन्ट, अर्थोडक्स, इभान्जेलिकल आदि धाराहरू छन्, र तिनका सांस्कृतिक रूप फरक छन् । यसबाट स्पष्ट हुन्छ- धार्मिक सिद्धान्त एउटै भए पनि संस्कृति स्थानीय जीवन, भाषा, इतिहास र स्मृतिसँग जोडिएकाले फरक बन्छ । पन्थ परिवर्तन भए पनि संस्कृति सजिलै मर्दैन । यही कारण संसारभरि अनेक शाखा, सम्प्रदाय र स्थानीय रूपहरू विकसित भएका छन् ।

वैदिक परम्परामा पनि अनेक सम्प्रदाय छन्- शैव, वैष्णव, शाक्त, स्मार्त, वेदान्ती, योगी, तान्त्रिक, भक्त, कर्ममार्गी, ज्ञानमार्गी आदि । तर यी विविधताभित्र पनि एउटा सभ्यतागत एकता छ । काशीको शिवभक्ति, वृन्दावनको कृष्णभक्ति, जनकपुरको सीताराम परम्परा, पशुपतिनाथको शैवधारा, मुक्तिनाथको वैष्णव-बौद्ध समन्वय, लुम्बिनीको बौद्ध करुणा, जैन तपस्या – यी सबैले भारतवर्षीय सभ्यताको विविधताभित्रको एकतालाई देखाउँछन् । यही विविधता हाम्रो शक्ति हो । तर विविधताको नाममा आफ्नो मूल पहिचान नै विसर्जन गर्ने उदारता भने आत्मघाती हुन सक्छ ।

आज ‘म आधुनिक हुँ’ भन्ने धेरैलाई संस्कृति चाहिएको छ, तर शास्त्रीय अनुशासन चाहिएको छैन । उनीहरूलाई गीता चाहिन्छ, तर गुरु-शिष्य परम्परा चाहिँदैन, ध्यान चाहिन्छ तर यम-नियम चाहिँदैन, योग चाहिन्छ तर तप, स्वाध्याय र ईश्वरप्रणिधान चाहिँदैन, अपितु पूजा चाहिन्छ तर शुचिता र कर्तव्य चाहिँदैन, संस्कृति चाहिन्छ तर संस्कारको अनुशासन चाहिँदैन । यही मनोवृत्तिले ककटेली धार्मिकतालाई जन्म दिन्छ । यस्तो धार्मिकता आकर्षक देखिन्छ, तर जरा कमजोर हुन्छ । रूखको पात चम्किलो भए पनि जरामा पानी नपुगे रूख बाँच्दैन । यस्तो ककलेटी धार्मिकताले वैदिक संस्कृति संरक्षित हुन्छ भनेर विश्वास गर्ने थोरै ठाउँ छ ।

यसैले हामीले दुई अतिवादबाट जोगिनुपर्छ । पहिलो, अन्धविश्वास र कुरीतिलाई धर्म भनेर बचाउने अतिवाद । दोस्रो, धर्मका हरेक रूपलाई अन्धविश्वास भनेर नष्ट गर्ने आयातित बौद्धिक अतिवाद । छाउपडी, छुवाछूत, जातीय घृणा, दाइजो, बालविवाह, स्त्रीदमन, रोगको उपचार रोक्ने अन्धविश्वास, हिंसात्मक बलि-मनोवृत्ति वा डरको व्यापार – यी सबैको आलोचना हुनैपर्छ । तर व्रत, उपवास, तीर्थ, मन्त्र, पूजा, श्राद्ध, संस्कार, कुलदेवता, पितृस्मरण, ज्येष्ठजन सम्मान, गोत्र-परम्परा, गुरु-दीक्षा, योग, ध्यान, जप, भजन, प्रवचन र लोकपर्वलाई पनि एउटै झोलामा हालेर ‘अन्धविश्वास’ भन्नु बौद्धिक दिवालियापन हो ।

धर्ममा दर्शन हुनुपर्छ, र दर्शनमा धार्मिकताको विनम्र पहिचान हुनुपर्छ । यहाँ ‘धर्म’ शब्दलाई केवल पश्चिमी अर्थको ‘रिलिजन’ का रूपमा बुझ्नु ठूलो भूल हुनेछ । धर्म भनेको जीवनलाई धारण गर्ने सिद्धान्त हो- कर्तव्य, मर्यादा, सत्य, करुणा, संयम, न्याय, ऋत, सदाचार र आत्मोन्नतिको मार्ग । धर्म केवल मन्दिरमा सीमित छैन; यो परिवार, समाज, शिक्षा, राजनीति, अर्थव्यवस्था, प्रकृति, शरीर, मन र आत्मासँग सम्बन्धित जीवनदृष्टि हो । त्यसैले धर्मलाई केवल निजी विश्वास र संस्कृतिलाई केवल मनोरञ्जन ठान्ने दृष्टि अपूर्ण छ ।

आजको आवश्यक मार्ग हो : विवेकपूर्ण संरक्षण । न अन्धरूपमा सबै पुरानो बचाउने, न अन्धरूपमा सबै नयाँ स्वीकार गर्ने । परम्परागत गुरू, पुरोहित, आचार्य र साधकहरूले पनि समयअनुकूल भाषा, वैज्ञानिक स्वास्थ्यबोध, सामाजिक समानता र युवामैत्री व्याख्या सिक्नुपर्छ । आधुनिक शिक्षित वर्गले पनि शास्त्र, परम्परा, संस्कार र लोकजीवनलाई तिरस्कार होइन, अध्ययनको विषय बनाउनुपर्छ । विश्वविद्यालयले वेद, उपनिषद्, बौद्ध दर्शन, जैन दर्शन, योग, आयुर्वेद, संस्कृत, नेपाली लोकसंस्कृति र भारतीय मनोविज्ञानलाई आधुनिक आलोचनात्मक पद्धतिसहित पढाउनुपर्छ । घरले पर्व मनाउनुपर्छ, विद्यालयले अर्थ बुझाउनुपर्छ, मिडियाले सतही तमासा होइन, गम्भीर सांस्कृतिक संवादलाई स्थान दिनुपर्छ ।

ककटेली धार्मिकताको आकर्षण बढेको छ, तर मूल धर्मको आवश्यकता घटेको छैन। बरु आजको भ्रमित, तनावग्रस्त, उपभोक्तावादी र डिजिटल व्याकुलताले भरिएको समयमा मूल धर्मको आवश्यकता अझै बढेको छ । मूल धर्मले मान्छेलाई जरा दिन्छ, दिशा दिन्छ, संयम दिन्छ, समुदाय दिन्छ र आत्मबोध दिन्छ । ककटेली धार्मिकता क्षणिक मनोरञ्जन हुन सक्छ; मूल धर्म जीवनको आधार हो । त्यसैले अन्धविश्वासको विरोध गरौँ, कुरीतिको सुधार गरौँ, तर धर्म-संस्कृतिको मूल आत्मालाई जोगाऔँ । विवेक, विनम्रता, अध्ययन, साधना र पहिचान – यी पाँच आधारमा उभिएको सनातन संस्कृति मात्र भविष्यसम्म जीवन्त रहन सक्छ ।