साराको मुद्दा तीन महिनापछि मात्र सुनुवाई गरिने

साराको मुद्दा तीन महिनापछि मात्र सुनुवाई गरिने


छली र विश्वास घात गरेको आरोप लागेकी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी साराको मुद्दामाथिको सुनुवाई आगामी तीन महिनाका लागि स्थगित भएको छ । यस पहिले यही जुलाई १९ मा हुनेगरी ‘जेरुसेलम मेजिस्ट्रेट कोर्ट’ द्वारा तोकिएको सारा नेतन्याहुको सुनुवाई आगामी अक्टुबर ७ मा हुने उक्त अदालतले जनाएको हो ।

मुद्दाबारे विस्तृत विवरण नदिइकन न्यायाधीश अभिताल चेनले मुद्दामाथिको सुनुवाईलाई ढिलो गर्न स्वीकृति प्रदान गरेका इजरायली न्यायाधिवक्ताको कार्यालय र प्रधानमन्त्रीका धर्मपत्नी साराका कानूनी प्रतिनिधिले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोपमा उनान्साठी वर्षीया सारामाथि गत महिना मुद्दा दायर भएको थियो ।

सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उनको परिवार र पाहुनाहरूका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरेको नक्कली बिल पेश गरिएको सारामाथि आरोप छ । नेतन्याहुले भने उक्त आरोपको खण्डन गर्दै आफूबाट कुनै छली नभएको जिकीर गर्दै आएका छन् । यद्यपि प्रधानमन्त्री नेतन्याहुमाथि पनि विविध विषयमा भ्रष्टाचार गरेको आरोपहरू लाग्दै आएको छ ।