एमाओवादी कहाँ थियो– खोजिन्छ :: झलनाथ खनाल

एमाओवादी कहाँ थियो– खोजिन्छ :: झलनाथ खनाल


jhalanath-khanalनेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी :
० संविधानसभाको निर्वाचन शङ्काको घेरामा छ नि ?
– निर्वाचन शङ्काको घेरामा छैन । मङ्सिर ४ गते नेपालमा संविधानसभाको निर्वाचन हुन्छ । नेकपा एमाले मङ्सिर ४ पछि अर्कै शक्तिको रूपमा उदाउँछ ।
० एमाले कमजोर भएकोले निर्वाचनमा जान चाहँदैन भन्नेहरू पनि छन् नि ?
– नेकपा एमाले ६० वर्षभन्दा लामो इतिहास बोकेको, गौरवपूर्ण सङ्घर्षका गाथा बोकेको, इतिहासका मोडहरूमा परीक्षित भएको र सही सिद्धान्त बोकेको पार्टी हो । यस्तो पार्टी निर्वाचन आउँदैमा खुट्टा कमाउँदैन, निर्वाचनलाई स्वागत गर्छ । जनतामा परीक्षित भएर देशको ठूलो पाटीको रूपमा उदाउँछ । निर्वाचनबाट एमालेले डिस्टिङ्सन ल्याउँछ ।
० एमालेलाई धेरै नेताले छाडिसके कसरी नम्बर वन होला ?
– रूखका वरिपरि एकाध पात झरेका हुन्छन्, तर एकाध पात झर्दैमा रूख सुकेर जान्छ र ? एकाध मान्छेमा अधपतन आउन सक्दछ, एकाध मान्छेले बाटो बिराउन सक्छन् । उनीहरू अहिले पश्चात्तापले डढ्दै छन् । जनताको बहुदलीय जनवादजत्तिको सही सिद्धान्त यो देशमा अर्को छैन ।
अहिले जो छाडेर गएका छन् भोलि आत्मालोचना गरेर आउने पार्टी पनि एमाले नै हो । तपार्इंले एमालेबाट गएका दुई–चारजनाको नाम लिनुभयो तर यो अवधिमा हजारौँ नेता तथा कार्यकर्ता एमालेमा आएका छन् । यो कुरा पनि देख्नुप-यो ।
० प्रचण्डले त एमाले चौथो स्थानमा पुग्छ भनेर दाबी गर्नुभएको छ नि ?
– प्रचण्डजीले एमाले भन्ने पार्टी म देख्दिनँ भन्नुभयो रे, यसको जवाफमा म के भन्छु भने मङ्सिर ४ गतेपछि यो देशमा एमाओवादी कहाँ थियो भन्ने कुरा खोज्नुपर्छ ।
० एमाओवादी एक नम्बरमै आए ?
– म त्यस्तो कल्पनै गर्न सक्दिनँ । एउटा समय थियो नेपालमा उग्रवामपन्थी विचारको बाढीपहिरो आयो । त्यो बाढीपहिरोले धेरै मान्छेलाई बिगा-यो, धेरै मान्छेलाई आतङ्कित पनि बनायो । धेरै मानिसलाई विचलित पनि बनायो । र, ती विचलित मानिसले समेत मतदान गरेपछि एमाओवादी पहिलो पार्टी बन्यो । तर, अब कसैको दाबीले हुनेवाला छैन । देशमा अर्कै किसिमको परिस्थिति सिर्जना भइसकेको छ । अब एमाओवादी पहिलो निर्वाचनदेखि अहिलेसम्म आउँदा हरेक हिसाबमा खुइलिइसकेको छ । उसप्रतिको चार्म पनि समाप्त भइसकेका छन् । उसका नीति–कार्यक्रम के हुन्, ऊ कुन चरित्रको पार्टी हो– त्यो पनि प्रस्ट भइसकेको छ । राष्ट्रियताप्रतिको उसको धारणा के हो– त्यो पनि जनताले बुझ्ने मौका पाइसकेका छन् । लोकतन्त्रप्रतिको प्रतिबद्धता कस्तो रहेछ, भ्रष्टाचारको मामिलामा कस्तो रहेछ– जनताले त्यो पनि बुझिसकेका छन् । त्यसैले अब एमाओवादीको भविष्य सकियो । तेस्रो, चौथो शक्ति होला ।
० नेकपा–माओवादीले बहिस्कार गरेको अवस्थामा पनि तपाईंहरू निर्वाचन गराउन सक्नुहुन्छ ?
– चुनाव नहुने कल्पना नगरौँ । मोहन वैद्य परिपक्व नेता हुनुहुन्छ । मेरो त उहाँ अत्यन्तै घनिष्ठ मित्र पनि हुनुहुन्छ । उहाँले धेरै परिपक्वताका साथ सोच्नुपर्छ । यतिबेला नेपाली राजनीति जसरी अघि बढिरहेको छ, नेपालको लोकतन्त्र जसरी अघि बढिरहेको छ, नेपालको जनवादी क्रान्ति जसरी अघि बढिरहेको छ यस्तो बेलामा कुनै पनि कम्युनिस्ट पार्टीले निर्वाचनलाई बहिस्कार गर्नुहुँदैन । निर्वाचनलाई बहिस्कार गर्नु भनेको उग्रवामपन्थी गल्ती हुन्छ । यस्तो बेलामा बहिस्कारले पार्टीलाई जनताबाट आइसुलेट गर्छ । अलगथलग पार्छ । त्यस्तो अवस्थामा काम गर्न दलहरूलाई अप्ठ्यारो हुन्छ । त्यसैले नेकपा–माओवादीले पनि चुनावमा माग लिओस् भन्ने आमनेपालीको चाहना छ ।
० उहाँहरूका मुद्दा कसरी सम्बोधन गर्नुहुन्छ ?
– हामी मङ्सिर ४ गते निर्वाचन गराउने सर्तमा कुनै पनि मुद्दामा छलफल गर्न तयार
छौँ । तर, निर्वाचनलाई अस्वीकार गर्ने काम नगरौँ ।
० यो सरकार बर्खास्त गर्न तयार हुनुहुन्छ ?
– मङ्सिर ४ गते निर्वाचन नगरौँ, मङ्सिर ४ गते निर्वाचन गराउने सरकार हटाऊ यस्तो
कुरा मान्य हँुदैन । यो सरकार उभ्याउने ११बुँदे राजनीतिक सहमति र २५बुँदे बाधा–अडकाउ फुकाउ आधार हटाऊ भन्ने कुरा पनि मान्य हुनेवाला छैन । राजमार्गलाई जति ठूलो पनि बनाउन सकिन्छ, तर कोरेको गोरेटो बदलिँदैन नि । मङ्सिर ४ गते पुग्ने गोरेटो बनिसक्यो, यो गोरेटोलाई राजमार्ग बनाउन सकिन्छ, तर त्यसलाई बन्द गर्न र भत्काउन सकिँदैन ।
० गोलमेच सम्मेलनका लागि तयार हुनुहुन्छ ?
– गोलमेच सम्मेलन त सधैँ भएकै छ नि । राजनीतिक पार्टीहरू जहाँ बस्छन् त्यहाँ गोलमेच त भइहाल्छ । त्यस्तोमा माओवादी सहभागी भए सुनमा सुगन्ध हुन्छ ।
० वैद्य समूह चुनावमा नआए पनि चुनाव हुन्छ कि हुँदैन ?
– चुनाव त अब यो धर्तीका कुनै पनि तागतले रोक्नै सक्दैन । मङ्सिर ४ गते नेपालमा चुनाव भयो–भयो । यो कुरामा पूरा विश्वास लिएर चल्नुस् । किनकि मेची–महाकाली, हिमालदेखि तराईसम्मका जनता अहिले चुनावको पक्षमा छन् । चुनावको तयारीमा जनता लागिसकेका छन् । यस्तो अवस्थामा चुनाव रोक्ने काम जनताको इच्छाविपरीत हुन जान्छ ।
० एमालेको अधिवेशन कहिले हुन्छ ?
– हाम्रो पार्टीको महाधिवेशन आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानअनुसार हुन्छ । विधानअनुसार आगामी फागुनमा पाँचवर्षे कार्यकाल सकिन्छ । त्यसपछि तत्कालै अधिवेशन गर्न पनि सकिन्छ । सकिएन भने केन्द्रीय समितिले एक वर्ष थप्न पनि सक्छ । त्यसैले हामी केही समय पर पनि अधिवेशन गर्न सक्छौँ ।
० केपी ओलीले त तत्काल महाधिवेशन गर्नुपर्छ भन्नुभएको छ नि ?
– ओली कमरेड कहिलेकाहीँ व्यक्तिकेन्द्रित र आत्मकेन्द्रित चिन्तन बोकेर हिँड्नुहुन्छ । उहाँले तत्काल महाधिवेशनको माग गर्नुभएको छ । तर, अहिले महाधिवेशन हुन सक्दैन । राष्ट्र निर्वाचनमा छ, राजनीतिक दलहरू निर्वाचनको मैदानमा उत्रिसकेका छन् । यो प्रतिस्पर्धामा उत्रनु र एमालेलाई पहिलो पार्टी बनाउनु सबै नेता तथा कार्यकर्ताहरूको केन्द्रीय दायित्व हो । यो केन्द्रीय दायित्वलाई छाडेर महाधिवेशन घोषणा ग-यौँ भने त हामी चुनाव छाडेर त्यतातर्फ केन्द्रित हुन्छाँै । महाधिवेशन चानचुने कुरा होइन, यो त पार्टीको सर्वोच्च संस्था हो । त्यसैले अहिले निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्छ । निर्वाचन सकिएपछि हामी महाधिवेशनमा जान्छौँ ।
० केन्द्रीय समिति विघटन हुँदैन ?
– अहिले केन्द्रीय समिति विघटन गर्ने होइन अझै विस्तार र बलियो बनाएर जानुपर्छ । राष्ट्रव्यापी रूपमा कमान्ड सम्हाल्ने गरी जानुपर्नेछ । महाधिवेशन र निर्वाचन पार्टीको लागि उस्तै हुन्छ । त्यसैले एउटै म्यानमा दुईवटा तरबार हालेर हिँड्न सकिँदैन ।
० तपाईंलाई त केपी ओलीले असफल नेतृत्व भन्नुभएको छ ?
– यो उहाँको मानसिकतामा रहेको समस्या हो । यस्तो कुरा एकैचोटि पेपरमा किन बाहिर ल्याउनुभयो । यी कुरा त पार्टी केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने विषय हो । एउटा अनुशासित नेताको व्यवहार भएन । बाहिर हल्ला गर्ने कामले उहाँलाई नै राम्रो गर्दैन । यो विषयमा म केन्द्रीय कमिटीमा कुरा उठाउँछु ।
० तपाईंको नेतृत्वमा चुनाव हारिन्छ भनेर केपी ओलीले नेतृत्व परिवर्तनको कुरा उठाउनुभएको हो भनिन्छ ?
– मेरो नेतृत्वमा अहिले पार्टीभित्र सामूहिक नेतृत्व अघि बढिरहेको छ । त्यस्तो दाबी गर्नेहरू पनि तिसमार खाँ छैनन् ।