दुई छुट्टाछुट्टै अन्तराष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन खेलाडी सोनिया भट्टसहित प्रशिक्षक सुनिता मगर, दुई सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ ।
बिहीबार प्रस्थान गर्ने टोली पहिले हङकङमा यही असार ३० र ३१ गते (जुलाई १४ र १५ तारिखमा) हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ । भट्टले क्याडेटतर्फ महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनले आगामी साउन ४ गतेदेखि ६ गतेसम्म (जुलाई २० देखि २२ तारिखसम्म) मकाउमा हुने प्रतियोगितामा भाग लिने छन् । दुवै प्रतियोगितामा प्रशिक्षकको रुपमा मगरले भूमिका निर्वाह गर्ने छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले आज बिदाइ गरे । अध्यक्ष श्रेष्ठले तीन महिनापछि अर्जेन्टिनामा हुने युथ ओलम्पिकको तयारीलाई मध्यनजर गरी ओलम्पिक कमिटीले खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन लागेको जानकारी दिए ।
प्रतिक्रिया