ख्यातिप्राप्त भारतीय लेखकले दर्शाए नेपालबारे भारतको तीन गम्भीर गल्ती

ख्यातिप्राप्त भारतीय लेखकले दर्शाए नेपालबारे भारतको तीन गम्भीर गल्ती


भारतका ख्यातिप्राप्त विचारक एवम् लेखक ब्रह्म चेलानीले भारतको तीनवटा ठूला गल्तीका कारण नेपालमा कम्युनिस्टहरूको एकलौटी सत्ता स्थापना भएको र नेपाल चीनतिर ढल्किँदा भारतको सुरक्षा चुनौती बढेको बताएका छन् । अन्तर्राष्ट्रिय भूरणनीतिका व्याख्याता, रणनीतिक चिन्तक र स्वतन्त्र विचारकका रूपमा समेत चिनिएका चेलानीले गत शनिबार (जुलाई ६) प्रकाशित हिन्दुस्तान टाइम्समा लेख लेख्दै भनेका छन्, ‘नेपालबाट संवैधानिक राजतन्त्रको उन्मूलन गर्नु, भूमिगत माओवादीलाई नेपाली राजनीतिमा मूल प्रवाहीकरण गर्नु तथा नयाँ संविधानविरुद्ध तराईमा आन्दोलनरत पक्षलाई शुरुमा सहयोग गरी बीचैमा छोडिदिनु र तिनलाई गत वर्ष सम्पन्न निर्वाचनहरूमा सामेल हुन दबाब दिनु भारतको गल्ती थियो ।’

‘भारतको गल्तीले नेपालमा चिनियाँ अतिक्रमणलाई अनुमति (India’s mistakes have allowed china to make inroads into Nepal) शीर्षकमा प्रकाशित लेखमा चेलानीले भनेका छन्, ‘राष्ट्रपति र उपराष्ट्रपतिदेखि प्रहरी प्रमुखसमेत ‘कार्ड क्यारिङ कम्युनिस्ट’ छन् । राज्य संयन्त्रलाई उपेक्षा गर्दै अघि बढेका केपी ओलीले न्यायालय र निर्वाचन आयोगजस्ता संस्थाहरूको स्वतन्त्रतालाई पनि उपेक्षा गरेका छन् । अब कम्युनिस्टहरूको अर्को निसाना नेपाली सेना हुन सक्नेछ । प्रजातन्त्र जीवित रहेसम्म कम्युनिस्ट शासन अनिश्चित हुने भएकोले त्यसतर्फ उनीहरू सचेततापूर्वक कदम चाल्दै छन् ।’

चेलानीले भारतको सुरक्षालाई नेपालले चुनौती दिने स्पष्ट हुँदै गएको बताउँदै अगाडि लेखेका छन्, ‘नेपालले चिनियाँ प्रभावलाई बढावा दिइरहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जिहादीहरूको गतिविधि बढेको छ, सीमा क्षेत्रमा विदेशी जासुसहरू सक्रिय भएका छन् । लागूऔषध र भारतीय नक्कली मुद्रा तथा भारतमा चिनियाँ हतियार भित्र्याउने मुख्य ट्रान्जिट नेपाल बनेकोले भारतको सुरक्षा चुनौती बढेको छ ।’

भारत स्वयम्ले सिर्जना गरेको समस्याका कारण नेपाल आजको यस अवस्थासम्म आइपुगेको दाबी गर्दै चेलानीले लेखेका छन्, ‘तात्कालिक भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपाली कम्युनिस्टहरूको सशक्तीकरण गर्दा भारतको दीर्घकालिक हितलाई विचार गरेनन् । नेपाली राष्ट्रिय एकता र स्थायित्वको प्रतीक बनेको २३९ वर्ष पुरानो राजसंस्थालाई विधि र प्रक्रिया नपु¥याईकन विस्थापित गरियो र त्यसनिम्ति जनमतसङ्ग्रहसमेत गरिएन । त्यतिबेला मनमोहन सिंहको सरकार आफ्नो अस्तित्व रक्षाका निम्ति कम्युनिस्टहरूमाथि निर्भर थियो, उनीहरूलाई शान्तिकर्मी बनाइयो र नेपालका माओवादीलाई मूल राजनीतिक प्रवाहमा ल्याउनका लागि राजतन्त्रलाई विस्थापित गरियो । नेपालका माओवादी र अन्य कम्युनिस्टहरूलाई सशक्तीकरण गरेर भारतको हित कसरी हुन सक्छ भन्ने सामान्य विचार पनि त्यसबेला गरिएन । राजतन्त्रको उन्मूलनपछि विश्वको एक मात्र हिन्दू अधिराज्यको पहिचान मेटियो ।’

माओवादी र ओली नेतृत्वको एमाले चीनको सल्लाहमा संयुक्त भएर चुनाव लडेको चेलानीले लेखेका छन्, ‘कम्युनिस्टहरूले नाकाबन्दीबाट क्रूद्ध बनेका साधारण जनतालाई आफ्नो प्रभावमा पारे ।’

भारतले आफ्नै देशका माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन नसकेको, तर भारतको सहयोगमा नेपाली माओवादीहरू सत्तामा रमाइरहेका छन् भन्दै ब्रह्मा चेलानीले अगाडि लेखेका छन्, ‘माओवादीको स्वप्नभूमि चीन नेपाललाई आफ्नो कक्ष (ग्रहपथ) मा लैजाँदै छ, भारतचाहिँ त्यसैमा मलजल गर्दै छ ।’

चेलानीको यो लेख प्रकाशित भएपछि नेपाली र भारतीय राजनीतिमा चासो राख्नेहरूले यसलाई गम्भीर र अर्थपूर्ण मानेका छन् । कतिपयले यसलाई भारतको नेपाल नीतिमा परिवर्तनको सङ्केतका रूपमा समेत लिएका छन् ।