मनको सेरोफेरोमा
यही आषाढभित्र, रोपाइँ गर्नु छ
प्रिय तिमी वर्षा भई आऊ ।
प्रेमको खडेरीमा
मन सुकेर चिरा–चिरा परेको छ
आँसुले सिञ्चित गरी मुटुको एक कुनामा
एक मुट्ठी बीउ रोपेको छु
यही आषाढभित्र रोपाइँ गर्नु छ
प्रिय तिमी वर्षा भई आऊ ।
उत्तराखण्डमा मुसलधार वर्षा भई
धन–जन बगाएजस्तो होइन
मात्र एक रातभरिको झरी बनी आऊ
हुन सक्छ रातभरिको झरीले
चिरिएको मन भरिन सक्छ
भेल आए पनि एउटा नयाँ सृष्टि बन्न सक्छ
त्यसैले प्रिय तिमी वर्षा भई आऊ
आऊ है प्रिय तिमी वर्षा भई आऊ ।
प्रतिक्रिया