पशु–अधिकारवादीलाई तस्कर–कुकुरको चिन्ता

पशु–अधिकारवादीलाई तस्कर–कुकुरको चिन्ता


ramailoड्रगको प्याकेट निल्न लगाएर मेक्सिकोबाट इटली पठाउन लागिएको एक तालिमे कुकुर पक्राउ परेको छ । अन्य माध्यमहरू एक्सपोज भई धन्दामा मन्दी आएपछि इटलीमा सक्रिय ल्याटिन अमेरिकी तस्कर समूहले कुकुरलाई तालिम दिएर मेक्सिको–इटली रुटमा ड्रग्स तस्करी गर्ने गरेका थिए । तस्करहरू ड्रगको प्याकेट निल्न कुकुरलाई बाध्य पार्थे र आफूचाहिँ सरिफ बनेर कुकुर लिएर गन्तव्य प्रस्थान गर्थे । तोकिएको स्थानमा पुगेपछि कुकुरलाई मारिन्थ्यो र मृत कुकुरको शरीरबाट ड्रग्स निकालिन्थ्यो । तस्करहरूको यो विधिबारे जानकारी पाएर यतिबेला पशु–अधिकारवादीहरू रिसले चुर भएका छन् । सम्बन्धित तस्करहरूमाथि कानुनी कारबाहीको प्रक्रिया जारी रहँदै गर्दा उता पशु–अधिकारवादीहरू तस्करीमा प्रयोग भएर अहिलेसम्म कति कुकुरले ज्यान गुमाए होलान् भन्ने आँकडाको खोजी गर्न थालेका छन् ।

हार्बर पुलको सफाइ रोबोटको जिम्मामा
अस्ट्रेलियाको सिड्नीमा रहेको विशाल हार्बर ब्रिजको उमेर त ८१ वर्ष मात्रै हो, तर यो पुल अस्ट्रेलियाकै महत् वपूर्ण ऐतिहासिक स्थलमध्येको एक मानिन्छ । पर्यटकीय आकर्षणको वस्तुसमेत रहेकोले यस पुलको खातिरदारीमा अस्ट्रेलियन सरकारले विशेष ध्यान पु-याउने गरेको छ । यस्तो महत् वपूर्ण र विशाल पुलको सरसफाइ तथा रङरोगनका निम्ति यतिबेला दुई यान्त्रिक रोबोट खटाइएका छन् । उक्त पुलको पुरानो पेन्टिङ र त्यसमा लागेको खिया हटाउने कार्य मानिसका लागि स्वास्थ्य र सुरक्षाका दृष्टिले पनि अत्यन्त जोखिमयुक्त ठानिएपछि सो कार्य रोबोटको जिम्मा लगाइएको हो । सिड्नीकै प्राविधिक विश्वविद्यालयमा विशेष तवरबाट निर्मित २५–२५ किलोग्राम तौल र दुई–दुई मिटर लामो हात भएका ती रोबोटले तीव्र गतिमा हावा फ्याँक्दै सफाइको काम गरिरहेका छन् । संसारमै यस प्रकृतिको कामका लागि रोबोट प्रयोग गरिएको यो पहिलो घटना हो ।

बलात्कारको उजुरी गर्दा १६ महिना जेल सजाय
नर्वेकी २४ वर्षीया इन्टेरियर डिजाइनर मार्टे डेबोरा डेलेव गत मार्चमा दुबई घुम्न जाँदा बलात्कारको सिकार भइन् । आफ्ना सहकर्मी साथीहरूकै माझ दुबईका एक पुरुषबाट ६ मार्चका दिन बलात्कृत हुनुपरेको डेबोराको भनाइ छ । यसरी घुम्न गएको देशमा बलात्कृत हुनुपरेपछि विवाहिता डेबोराले स्थानीय प्रहरीमा बलात्कारीमाथि कारबाही र आफूलाई न्याय दिलाउन रिपोर्ट दर्ता गराइन् । तर, उनी त्यतिबेला घोर आश्चर्यमा परिन् जब दुबई प्रहरीले रक्सी पिएको, विवाहित नारी भएर पनि परपुरुषसँग यौन सम्बन्ध राखेको र झुटो मामला खडा गरी प्रहरीमा निवेदन दिएकोजस्ता आरोप लगाएर उल्टै उनैलाई १६ महिनाको जेल सजाय सुनायो । बलात्कारको घटनाबारे रिपोर्ट दर्ता गराउन जाँदा प्रहरीले आफ्नो पासपोर्ट र पैसासमेत लुटेको डेबोराको आरोप छ । स्मरण रहोस्, दुबईमा बलात्कारको आरोप सिद्ध हुनका लागि अभियुक्तले आरोप स्वीकार गर्नुपर्ने र कमसेकम चार व्यक्तिले साक्षी बक्नुपर्ने प्रावधान छ । सार्वजनिक स्थानमा प्रेम प्रदर्शन र मदिरा सेवन गर्न सख्त निषेध गरिएकोले अन्जान विदेशीले त्यहाँ बेला–बेलामा भुक्तमान व्यहोर्नुपर्ने हुन्छ । केही समयअघि एक ब्रिटिस जोडीले रेस्टुरेन्टमा चुम्बन गर्दा एक महिना जेलको हावा खानुपरेको थियो भने सन् २००८ मा दुबईस्थित समुद्री किनारमा खुल्लमखुला यौनक्रीडा गर्ने अर्को एक बेलायती जोडीलाई तीन महिना बन्दी तुल्याइएको थियो ।

ढिलो सुत्ने बालबालिका पढाइमा कमजोर
राति अबेर सुत्ने बालबालिकाको दिमागमा खराब असर पर्ने र पढाइमा कमजोर हुन पुग्ने एक ताजा अध्ययनले देखाएको छ । सुत्ने आदत र दिमागको सम्बन्धबारे सात वर्ष उमेर समूहका एघार हजारभन्दा बढी बालबालिकामाथि बेलायतमा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो । जुन बच्चाको राति सुत्ने कुनै निश्चित समय थिएन र ती नौ बजेभन्दा ढिलो सुत्दथे, तिनीहरू गणित र सामान्य ज्ञानमा एकदम कमजोर भेटिए । निद्राको कमीले एकातिर स्वास्थ्यमा असर पर्ने र अर्कोतिर नयाँ कुरा सिक्ने क्षमतामा नकारात्मक प्रभाव पर्ने अध्ययनकर्ताहरूको ठहर छ । ढिलो सुत्ने आदतले पुरुषभन्दा महिला बच्चालाई ज्यादा असर गर्ने गरेको पनि अध्ययनले देखाएको छ । अक्सरगरी टेलिभिजन हेर्ने लतमा परेका बालबालिकाहरू राति ढिलो सुत्ने गरेका अध्ययनमा पाइएको थियो ।