प्रणय—गीत– बद्रीप्रसाद दाहाल

प्रणय—गीत– बद्रीप्रसाद दाहाल


indreniमुटु कुटुकुटु खाई, छैन शान्ति मनैमा ।
रसिक विगत नाचे, खेल्दथ्यौँ आँगनैमा ।
सुमधुर मुरलीझैं, खोलिथ्यौँ मुग्ध–राग ।
शरद–सुमन तिम्रा, बन्दथे स्वर्ण–हार ।।१।।

चपल–धवलझर्ना,चम्किँदै हैम माला ।
पवन सुमन बग्थे, मगमगाएर सारा ।।
विमल–नभ शरदको जगमगाए रमाई ।
मन कुटुकुटु खायो, नाच आई समाई ।।२।।,

बदम–नयन तिम्रा, स्याउझैं लालगाला ।
वदन–मनउजेली, शारदीजून–तारा ।।
अधर–धर खुलेका, लालुपाते गुराँस ।
मन कुटुकुटु खायो, आऊ हाँसेर नाच ।।३।।

लुकुँ–लुकुँ कविताको, रेशमी–केशभित्र ।
झुकुँ–झुकुँ कविताकै, शारदी–कान्तिभित्र ।।
अब त मनमझेरी, रङ्गशाला बनाऊ ।
मन कुटु–कुटु खायो, काव्यकी ज्योति आऊ ।।४।।