अब कानुनमन्त्री भानु कि भूमि ?

अब कानुनमन्त्री भानु कि भूमि ?


बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरूबारे दिएको अभिव्यक्ति विवादमा परेपछि ओली सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ‘बंगलदेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने नेपाली छात्राहरू त्यहाँका प्रोफेसरहरूबाट यौन हिंसाको सिकार हुने गरेको’ बताएका थिए । प्रसाईंको उक्त अभिव्यक्ति पत्याएर मन्त्री तामाङले पनि सोही अर्थ लाग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

आफैँलाई उद्दण्ड स्वभावका व्यक्ति भन्न नहिच्कचाउने व्यवसायी प्रसाईंको विरोधमा सामाजिक सञ्जालमा तिखा टीका–टिप्पणी भए पनि मन्त्रीले नै त्यसरी बोलेपछि जनस्तरबाटै चर्को आलोचना शुरु भएको थियो । महिला, अधिकारकर्मीदेखि विभिन्न राजनीतिक दलले समेत मन्त्री तामाङको राजीनामा माग्दै सडक तताउन थालेका थिए । पार्टीभित्रैबाट समेत राजीनामा दिनुपर्ने कुरा उठेपछि अन्ततः तामाङको पद धरापमा पर्न पुगेको हो ।

मंगलबार पदबाट राजीनामा दिनुअघि सञ्चारकर्मीहरूका सामु पत्नी उषाकला राईसँगै उपस्थित भएका निवर्तमान मन्त्री तामाङले आफू नेपाली नारीहरूको अत्यन्त सम्मान गर्ने व्यक्ति भएर पनि परिबन्दले विवादमा पारेको बताए । भावुकतावश आँसु खसाउँदै उनले महिलाको हकअधिकारका लागि काम गरेको आफूलाई त्यही विषयले लखेटेको वेदना सुनाए । आफू विषयमा निरन्तर लागिरहेको छु, सोही विषयले उल्टै लखेट्ने दिन पनि आउँदोरहेछ भन्दै उनले अरू कसैलाई पनि यस्तो विडम्बनाको अवस्था नआओस् भन्ने कामना गरे ।

सञ्चारकर्मीसमक्ष दुखेसोसँगै उनले आफू तत्काल प्रधानमन्त्रीकहाँ राजीनामापत्र बुझाउन जान लागेको जानकारी दिएका थिए ।

शेरबहादुर तामाङको राजीनामापछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रिक्त हुन पुगेको मन्त्री पद हात पार्न नेकपाका सांसदहरूबीच हानथाप शुरु भएको बुझिएको छ । विभिन्न नामको चर्चा चलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङका भानुभक्त ढकाल, चितवनका कृष्णभक्त पोखरेल या धादिङका भूमिप्रसाद त्रिपाठीमध्ये एकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिन सक्ने बालुवाटार सूत्रले बताएको छ ।