माग बदलिए पनि समर्थक नबदलिने !

माग बदलिए पनि समर्थक नबदलिने !


डा. गोविन्द केसीले अनशनमार्फत उठाएका मागहरूले आमजनतामा सकारात्मक प्रभाव परेको पाइएको छ । केसीको तरिका गलत र सरकारको अडान सही भन्ने जनमतको हिस्सा धेरै साँघुरो रहेको देखिन्छ । गोविन्द केसीको माग पूरा हुनेबित्तिकै चिकित्सा क्षेत्रमा ठूलो सुधार भई स्वास्थ्य सेवा सुलभ हुने विश्वासमा आमजनता रहेका छन् । त्यसैले साधारण मानिसको पूर्ण सहानुभूति गोविन्द केसीका प्रति देखिएको छ ।

स्वास्थ्य क्षेत्र सुधारको मागलाई ‘स्थायी’ बनाएर ‘अन्तरा’का रूपमा केसीमार्फत के–के गराइएको छ र गराउन खोजिँदै छ भन्ने विषयमा आमजनताले त्यति चासो राखेको पाइएको छैन । विगतमा चिकित्सा क्षेत्र सुधारकै नाममा आमरण अनशनमा बस्ने गरेका केसीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउने वातावरण बनाउनका लागि प्रयोग गरिएको थियो भने केही महिनाअघि तात्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विस्थापित गर्न पनि केसीकै उपयोग भएको थियो । अहिले प्रधानमन्त्री केपी ओलीको लोकप्रियता खस्काउँदै उनलाई रक्षात्मक अवस्थामा पुऱ्याउने उद्देश्यप्रति केसीको अनशन लक्षित भएको पाइएको छ ।

यसरी स्थायी मागसँगै ‘अन्तरामा’ भिन्नभिन्न माग पूरा गर्ने उद्देश्यबाट केसी आमरण अनशनमा बस्ने गरेका भए पनि उनलाई समर्थन गर्नेहरू एकैथरी पात्र देखापर्ने गरेका छन् । केसीलाई समर्थन गर्नेहरूमा पश्चिमा मुलुकनिकट या पश्चिमाहरूबाट परिचालित ठानिएका अधिकतर व्यक्तिहरू देखिएका छन् । केसी अनशन बस्नेबित्तिकै कान्तिपुर र नागरिक दैनिकले निरन्तर मुख्य समाचारका रूपमा प्रस्तुत गर्ने, अनशन बसेको भोलिपल्टैदेखि केसीको स्वास्थ्य नाजुक भएको समाचार बनाउन शुरु गर्ने र मिसन पूरा नहुन्जेल एकैप्रकारले समाचार सम्प्रेषण गरेर वातावरण बनाइरहने, अनशन शुरु भएकै दिनदेखि विवेकशील साझा नामक राजनीतिक क्लबमा आबद्ध व्यक्तिहरू टी–सर्ट र क्यापसहित सडकमा निस्कने र गगन थापाहरू उत्ताउलो भाषण गर्न अग्रसर हुने परम्परा नै बनिसकेको छ ।

गोविन्द केसीको अनशनसँग पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, केही पश्चिमा लगानीका एनजीओ व्यवसायी, कनकमणि दीक्षित, कान्तिपुर, नागरिक, सेतोपाटी, रवीन्द्र मिश्र र उनको राजनीतिक समूह तथा गगन थापालगायतका व्यक्तिहरू हरदम जोडिँदै आएका छन् । भारतबाट अपेक्षित सहयोग नभएको ठानेका शेरबहादुर देउवा पनि यसपटक गोविन्द केसीको अनशनसँग जोडिन पुगेका छन् ।

ज्ञातव्य छ, देउवापत्नी आरजु राणा पश्चिमानिकट रहस्यमयी पात्रका रूपमा परिचित छिन् । केसीका माग बदलिए पनि समर्थक र सहयोगीहरू नबदलिनुले यसका पछाडि अदृश्य शक्ति रहेको र त्यो शक्ति के हो भन्ने स्पष्ट हुँदै गएको छ । हिजो लोकमानविरुद्ध लक्षित अनशन हुँदा कनकमणिहरू अलिक बढी सक्रिय देखिएका थिए भने अहिले केपी ओलीविरुद्ध लक्षित गरिएकोले शेरबहादुर देउवाको सक्रियता ज्यादा भएको ठानिएको छ ।