पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।
पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आमनिर्वाचनमा ३४२ स्थानका लागि करिब १० करोड ६० लाखले मतदान गर्दै छन् । मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर, उनले प्रवेशद्वारमा नै विस्फोट गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
ज्ञात रहोस्, पाकिस्तानमा राष्ट्रिय सभा, संसदको तल्लो सदन र चारवटा प्रान्तीय विधान सभाको लागि आज बिहानदेखि संसदीय निर्वाचनको लागि कडा सुरक्षाबीच मतदान शुरु भएको थियो । आगामी पाँच वर्षको लागि नयाँ सरकारको चयन गर्न सर्वसाधारण बुधबार बिहान सबेरैदेखि मतदान स्थलमा पुगेका छन् ।
यस निर्वाचनपछि देशमा आर्थिक उत्थान र राजनीतिक स्थायित्वको आशा सर्वसाधारणले गरेका छन् । मतदान स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको र साँझ ६ बजेसम्म जारी रहनेछ ।
यहाँको प्रतिनिधिसभा अर्थात् संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ जसमा २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाको लागि ३ हजार ४५९ जना उम्मेदवार रहेका छन्
यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीय सभाको लागि ५७७ सिट रहेको र ८ हजार ३९६ उम्मेदवार रहेका छन् । यस निर्वाचनमा करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएका छन् । यसमा करिब ६ करोड पुरुष रहेका छन् ।
जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यसपटकको संसदको चुनाव निकै चर्चित रहेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।
निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशंका पनि उत्पन्न भएको छ ।
पाकिस्तानको सत्तामा समेत पकड रहेको शक्तिशाली सेनाले यस निर्वाचनमा के–कस्तो भूमिका निर्वाह गर्ला अथवा सेनाले नै आफूअनुकूलको परिणामका लागि चुनावमा हस्तक्षेप गर्ने हो कि भन्ने पनि यहाँ व्यापक रूपमा चर्चा भएको थियो ।
तर, सेनाले चुनावमा आफ्नो कुनै भूमिका नरहने स्पष्ट गरिसके पनि आशंका नमेटिएको यहाँका राजनीतिक जानकारहरू बताउँछन् । त्यसैगरी आतंककारी गतिविधिबाट प्रताडित पाकिस्तानमा अहिले पनि चुनावलाई केन्द्रित गरेर हिंसाका घटना भएका छन् ।
निर्वाचनलक्षित यस्तो हिंसामा परी १५० जना भन्दा बढीको ज्यान गइसकेको छ । छिटपुट हिंसाका घटना जारी नै छन् । त्यसैले पनि आजको मतदानका लागि सेनाको अगुवाइमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।
प्रतिक्रिया