नेपालमै पहिलोपटक अहिंसात्मक सञ्चारसम्बन्धी गोष्ठी हुने

नेपालमै पहिलोपटक अहिंसात्मक सञ्चारसम्बन्धी गोष्ठी हुने


नवलपुरको कावासोतीमा अहिसांत्मक सञ्चारसम्बन्धी एकदिने राष्ट्रिय कार्याशाला गोष्ठी हुने भएको छ । कावासोतीको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयको सभाहलमा यही साउन १२ गते गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

सो गोष्ठीमा देशभरका ५० भन्दा बढी युवाहरूको सहभागिता रहने बताइएको छ । देशमै पहिलोपटक आयोजना गर्न लागिएको यस सम्मेलनमा सञ्चारलाई कसरी हिंसारहित बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

एनभिसी प्राक्टिस ग्रुप नेपाल र क्रियटिभ युथ वल्र्डको आयोजना एवम् सिएनभिसी अमेरिकाको सहकार्यमा सञ्चालन हुने सो कार्याशालाबाट युवाहरूलाई सकारात्मक सोचको विकास गर्दै हिसांरहित सञ्चारमा अभ्यस्त बनाउने आयोजकको उद्देश्य छ ।

हिंसारहित सञ्चारका अभियन्ता श्रीराम तिमिल्सिनाले व्यक्ति–व्यक्तिबीचको सञ्चारमासमेत हिंसा हुनु हुँदैन भन्ने आफुहरूको मान्यता रहेको बताउनुभयो । कार्यक्रममार्फत सकारात्मकतालाई प्रवद्र्धन गर्दै हिंसारहित सञ्चारलाई प्रभावकारी बनाइने उहाँको भनाई छ ।

अर्का अभियन्ता किरण भुर्तेलले नवलपुरमा यसखालको कार्यक्रम हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले कार्यक्रममार्फत राष्ट्रिय सञ्जालको निर्माण गर्दै देशव्यापी रूपमा अभियानको प्रचार गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन ४५ जिल्लाका युवाहरूले आवेदन दिएको र कार्यशालाका लागि छनोट प्रक्रिया चलिरहेको सञ्चार संयोजक रमेश बस्ताकोटीले जानकारी दिनुभयो । बस्ताकोटीका अनुसार आवेदन दिएकाहरुलाई सिएनभिसी अमेरिकाले स्वतन्त्र रुपमा छनोट गर्नेछ । कार्याशालामा आउने सहभागीहरूलाई आवाससहित सबै व्यवस्था आयोजकले निःशुल्क उपलब्ध गराउने संयोजक बस्ताकोटीको भनाई छ ।