चलचित्र क्षेत्रमा हिलो छ्यापाछ्याप : कता जाँदैछौँ हामी ?

चलचित्र क्षेत्रमा हिलो छ्यापाछ्याप : कता जाँदैछौँ हामी ?


२०८१ सालको दशैंले हाम्रो घर-आँगनबाट बिदा लिइसकेको छ । हरेक वर्षजस्तै योपालि पनि भर्खरै बिदा भएको दशैंले हामीलाई विविध खालको अनुभव दिएर गएको छ । कसैलाई सबै मिठो अनुभव दियो होला अनि कसैलाई सबै तीतो त कसैलाई मिश्रित अनुभव पनि दिएको हुनुपर्छ ।

नेपाली चलचित्र क्षेत्रलाई भने यसपालिको दशैंले पहिलो र तेस्रो अनुभव दिएको हो कि जस्तो लागेको छ । यो दशैंमा घटस्थापनाको दिन ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आयो र यसले राम्रो ब्यापार गर्दै चलचित्र क्षेत्रमा सकारात्मक सन्देश दियो । त्यसपछि फूलपातिको दिनदेखि एकैपटक तीनवटा फिल्म प्रदर्शनमा आए । दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ विराज भट्ट निर्देशित ‘१२ गाउँ’ र वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ । यी तीनै चलचित्रले पनि राम्रो ब्यापार गरे/गरिरहेका छन् । दशैंको माहोलमा प्रदर्शनमा आएका यी चारवटै चलचित्रले राम्रो ब्यापार गरे भने यो त सुखद अनुभूति भयो, यसमा दुःख मान्नुपर्ने वा मिठो र नमिठोको मिश्रित अनुभव कसरी भयो त भन्ने प्रश्न उठ्न सक्ला, जुन स्वभाविक पनि हो । मिश्रित अनुभव गर्न बाध्यचाहिँ फिल्म प्रदर्शनको बेलामा एक किसिमको जुन सामाजिक संजाल द्वन्द्व देखियो- त्यसले गर्दा भएको हो ।

बेहुली फ्रम मेघौली निश्चल बस्नेत र स्वस्तिमा खड्का जोडिएको फिल्म भएकोले स्वभाविक रुपमा उनीहरूको क्रेजले गर्दा निर्माण घोषणा भएदेखि नै बहुप्रतिक्षित फिल्म बनेको थियो । त्यसैगरी लगातार सफल फिल्म दिइरहेका दीपक-दीपाको फिल्म ‘छक्का पञ्जा ५’ पनि चर्चाको शिखरमा थियो भने विराज भट्टको १२ गाउँ पनि विराजका छोरा समीर भट्टको लुक्सले गर्दा ह्वात्तै चर्चामा आएको थियो । चर्चा-परिचर्चाको बीचमा सबै फिल्मले आफ्नो शुटिङ्ग पूरा गरे र तोकिएको मितिमा प्रदर्शनमा पनि आए ।

प्रदर्शनमा आएपछि अपवाद बाहेक बेहुली फ्रम मेघौलीले अधिकांश तारिफ नै पायो भने मुख्य द्वन्द्व वा विवाद देखियो ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को बीचमा । यो द्वन्द्व वा विवाद वा आरोप-प्रत्यारोप ती तत् फिल्मका टीमभित्रकै मानिसले प्रायः गरेका थिएनन् । यो गर्ने/गराउने सामाजिक संजालमा देखिएका ती फिल्मका समर्थक र विरोधिले गर्दा भएको थियो र अझै भइरहेको छ ।

कसैको समर्थन गर्नु वा विरोध गर्नु सामान्य कुरा हो यसमा त्यस्तो उल्लेखनीय के छ र भन्ने प्रश्न उठ्न सक्छ । यहाँ के बुझ्नु जरुरी छ भने जबसम्म समर्थन वा विरोध सामान्य हुन्छ, शिष्टताको घेराभित्र हुन्छ तबसम्म मात्रै सामान्य र पाच्य हुन्छ तर जब समर्थन वा विरोधले शिष्टताको सबै दायरा नाघ्छ र अराजक बन्छ तब यो सबैको टाउकोदुखाइको विषय बन्छ र बन्नुपर्छ पनि । सामाजिक संजालसँग ‘समाज’ भन्ने शब्द जोडिएको छ । हाम्रो समाज कता जाँदैछ ? किन यस्तो अराजक बन्दैछ ? यो सबैले सोच्नैपर्ने विषय हो ।

निश्चल बस्नेतले चलचित्र भवनमा शो संख्या कम पाएको कारण देखाउँदै ‘बेहुली फ्रम मेघौली’ सिनेमाहलबाट उतार्ने निर्णय गरे । यो उनले बनाएको चलचित्र हो र यो चलचित्र कहिलेसम्म देखाउने भन्ने निर्णय उनले गर्न किन नपाउने ? ‘लुट’ चलचित्र बनाएर नेपाली चलचित्र क्षेत्रलाई एउटा बेग्लै दिशा र गति दिने निर्देशक हुन् निश्चल बस्नेत ! ‘दिमाग खराब’ चलचित्रको बेलामा आफ्नो चलचित्रको भविष्य धरापमा राखेर सम्पूर्ण निर्माताको भलाईको लागि सिनेमाहलसँग लड्ने व्यक्ति हुन् निश्चल बस्नेत ! चलचित्र कसरी बनाउनुपर्छ कसरी चलाउनुपर्छ र चलिरहेको चलचित्र उतार्दा के कस्तो असरपर्छ भन्ने निश्चलले नसोची विचार नगरी चलचित्र सिनेमाहलबाट उतारेका हुन् भनेर कसैले ठान्छ वा मान्छ भने त्यो बिल्कुल गलत हो । उनी जत्तिको परिपक्व मान्छेले पक्कै यो जोडघटाउ गरेर नै यस्तो कठोर निर्णय गरेका हुन् भन्नेमा शंका गर्नै पर्दैन । हो, यसको परिणाम भोलिको दिनमा के-कस्तो आउँछ त्यो बेग्लै बहसको विषय बन्ला । तर जब निश्चलले आफ्नो फिल्म सिनेमाहलबाट उतार्ने निर्णय गरे, त्यसपछि सामाजिक संजालमा उनको वर्णसमेतलाई लिएर तुच्छ कमेन्टहरू गरियो । उनलाई घमण्डीको उपमा दिइयो । किन ? आफूले बनाएको फिल्म उतार्नु के उनको त्यस्तो अक्षम्य अपराध हो र ?

करोडौँ लगानीमा बनेको र दर्शकहरूले मनपराइरहेको फिल्म अझ चल्नुपर्छ, चलोस् र दर्शकले हेर्न पाउन् भन्ने निश्चललाई लाग्या थिएन होला ? लाग्या छैन होला ? उनले के कस्तो परिस्थितिमा त्यस्तो कठोर निर्णय लिए त्यो बुझ्ने प्रयास नै नगरी उनलाई तुच्छ गाली गर्न किन तम्सिका हौँ हामी ? त्यसरी गाली गर्नुअगाडि उनले सिनेमाको माध्यमबाट हामीलाई दिएको मनोरन्जनलाई चटक्कै बिर्सिन मिल्छ ? यति छोटो समयमा उनले सिनेमा क्षेत्रमा दिएको योगदान बिर्सिन मिल्छ ? उनलाई त्यसरी त्यस्तो तुच्छ गाली गर्ने अधिकार हामीलाई छ ? यो एकपटक हामी स्वयम्ले आफैंलाई गर्नैपर्ने प्रश्न हो ।

त्यसपछि ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को प्रदर्शनको बेलामा त सामाजिक संजाललाई जे-जसरी फोहोर गरियो जसरी दुर्गन्धित बनाइयो त्यो त झन् तल्लो स्तरको मात्रै नभइ हाम्रो चेतनाको स्तर कस्तो र कति छ भन्नेसम्म छर्लङ्ग बनाइदियो । सामाजिक संजालमा समर्थन वा विरोधमा कमेन्ट गर्ने नाममा हामीले हाम्रो संस्कार, सामाजिक मर्यादा सबै बिर्सेका नै हौँ त ? के हाम्रो मानसिकता त्यस्तै अस्वस्थ्य र विकृत नै भइसकेको हो त ? प्रश्न यो खडा भएको छ ।

दीपक-दीपालाई हामी अधिकांशले चिनेको नै हामीलाई रेडियो, टिभी र फिल्मको माध्यमबाट हामीलाई मनोरन्जन दिने कलाकारको रुपमा हो । पहिला उनीहरू फिल्ममा सहयोगी कलाकारको रूपमा काम गर्थे भने हाल आएर उनीहरू फिल्मको मुख्य कलाकारको रूपमा भूमिका निर्वाह गर्छन् । उनीहरूमा यो रुपान्तरण तपाईं-हामीले उनीहरूलाई रुचाएको कारणले नै आएको हो । रेडियो, टिभी र फिल्ममा काम गर्ने अन्य धेरै कलाकार छन् तर उनीहरूले किन आज दीपक-दीपाले पाएको जस्तो लोकप्रियता पाएका छैनन् भन्दा उनीहरूलाई तपाईं-हामीले दीपक-दीपालाई माया गरेजति र जसरी माया गरेनौँ होला वा हामी उनीहरूको प्रतिभाबाट दीपक-दीपा जति प्रभावित हुन बाँकी भएर होला । हाम्रो मायारुपी साथ र उनीहरूको मिहिनेतले आज उनीहरू यो स्थानमा पुगेको तथ्यलाई हामीले नकारे पनि सत्य यही नै हो र रहन्छ । अनि हामीले नै त्यस्तो माया गरेका कलाकारको आज यस्तो विरोध किन ? उनीहरूको फिल्म वहिष्कार गर्नुपर्छ भन्ने हदसम्मको कमेन्ट किन ? उनीहरूलाई अश्लील गालीगलौज किन ?

दीपक-दीपा आजको दिनमा सर्वाधिक लोकप्रिय कलाकारमध्येमा पर्छन् तर उनीहरू पनि मानव नै त हुन् । अनि मानिसबाट गल्ती हुन सक्दैन ? तपाईं-हामीमध्ये कति यस्ता मान्छे छौँ जसले जिन्दगीमा मैले एउटा पनि गल्ती गरेको छैन वा म जिन्दगीमा एउटा पनि गल्ती गर्दिनँ भनेर दाबी गर्न सकोस् ? जसले लगातार काम गर्छ उसैबाट गल्ती हुने सम्भावना पनि अत्यधिक रहन्छ । चुप लागेर हात बाँधी बसेको मान्छेबाट त कसरी गल्ती होला ? गल्ती गरेपछि त्यो गल्ती महसूस गरेर माफी माग्ने कि नमाग्ने भन्ने प्रमुख कुरा हो । किनभने, भनिन्छ- गल्ती गर्न भन्दा पनि त्यो गल्ती स्वीकार गरेर माफी माग्न ठूलो मुटु चाहिन्छ । यदि दीपक-दीपाले कुनै दिन केही बोलेर, लेखेर गल्ती गरेका थिए भने पनि उनीहरूले पटक-पटक माफी मागिसकेका छन् । हामी उनीहरूलाई माफ गर्न किन सक्दैनौं ? अब थप के गर्नुपर्ने त उनीहरूले हामीलाई सन्तुष्ट बनाउन ? फिल्म क्षेत्र नै छोड्नुपर्ने कि सरकारले उनीहरूलाई देशद्रोही घोषणा गरेर जेल हाल्नुपर्ने त ?

विरोधले मात्रै होइन कहिलेकाहीँ अनावश्यक समर्थनले पनि मानिसलाई भ्रमित बनाउन सक्छ । र, हामीले समीर भट्टको हकमा जानी-नजानी यो गल्ती पनि गरिरहेका छौँ । धेरै समयपछि नेपाली चलचित्र क्षेत्रले एउटा सम्पूर्ण कलाकार पाएको छ । उनको ज्यान, नृत्य, द्वन्द्व कौशल मात्रै होइन उनको अभिनय र आवाज पनि अब्बल छ भनेर उनले पहिलो फिल्मबाट नै प्रमाणित गरिदिएका छन् । पहिलो फिल्मको सफलताले उनले अन्य कलाकारलाई जति चुनौति दिएका छन् त्यो भन्दा बढि चुनौति स्वयम् उनमा थपिएको छ । अब उनले झन् मिहिनेत गरेर काम गर्नुपर्ने समय आएको छ । फिल्म छनौटदेखि हरेक कुरामा थप सतर्क बन्नुपर्ने समय आएको छ । पहिलो फिल्मबाट उनले दर्शकको मनमा उनप्रति जुन आशा र भरोसा जगाएका छन् त्यसलाई कायम राख्न उनले आफ्नो सम्पूर्ण ध्यान आफ्नो कामप्रति केन्द्रित गर्नुपर्ने समयमा उनलाई अन्य कलाकारसँग तुलना गर्न थालियो, विवादमा तान्न थालियो भने परिणाम सुखद नआउन सक्छ ।

अहिले सामाजिक संजालमा कतिपय पोस्ट देखिन्छ- तपाईंलाई अनमोल केसी मनपर्छ कि समीर भट्ट ? तपाईंलाई प्रदीप खड्का मनपर्छ कि समीर भट्ट ? यस्तो पोस्टमा धेरैजसो समीर भट्टको पक्ष लिएको देखिन्छ । समीर भट्टका प्रशंसकलाई यो सुखद लाग्ला तर यसले स्वयम् समीर भट्टको चलचित्र जीवनलाई कस्तो असर गर्ला त्यो पनि त हामीले सोच्नु पर्ला नि, यदि हामी उनको वास्तविक प्रशंसक र हितैषी हौँ भने । हरेक मानिसमा रिस, इर्ष्या, लोभ, घमण्ड सबै कुरा हुन्छ । कसले यसलाई कति दबाउन सक्छन् वा सकेका हुन्छन् त्यो व्यक्तिमा भर पर्ने कुरा हो । भर्खरै एउटा फिल्म खेलेर एउटै फिल्मबाट अप्रत्याशित सफलता र चर्चा कमाउन सफल भएका समीर भट्टलाई धेरैवटा फिल्म खेलिसकेका ती कलाकारसँग त्यसरी तुलना गरिदिँदा यदि ती कलाकारको मनमा समीर भट्टप्रति वैरभाव उत्पन्न भयो उनीहरूले भोलिको दिनमा समीरसँग सहकार्य नै नगर्ने अवस्थाको सृजना भयो भने पक्कै यो राम्रो कुरा हुने छैन । समीरले आफूलाई जे-जति तैयार गरेर र जुन सकारात्मक मानसिकता लिएर चलचित्र क्षेत्रमा आएका छन् त्यो हेर्दा किटेरै भन्न सकिन्छ यसरी तुलना गरिएको स्वयम् उनलाई पनि चित्त बुझेको छैन ।

समीर नेपाली चलचित्र क्षेत्रको लागि उपहार हुन् । यो उपहारलाई लामो समयसम्म टिक्न दिनुपर्छ । टिकाउन हामी सबैले सहयोग गर्नुपर्छ । उनले चलचित्र क्षेत्रका हरेक दिग्गज भन्दा दिग्गज कलाकारसँग सहकार्य गर्ने मौका पाउनुपर्छ । त्यसले उनलाई झन् अनुभवी बनाउने छ, निखार्ने छ भन्ने हामीले समेत बुझ्न जरुरी छ ।

नेपाली चलचित्र हाम्रो चलचित्र हो । हाम्रो देशको उत्पादन हो । जसरी हामी देशका अन्य उत्पादन हाम्रो आफ्नो रुचि र छनौटअनुसार उपभोग गर्छौं त्यसैगरी चलचित्र पनि आफूलाई जुन हेर्न मन लाग्छ त्यो हेर्ने छुट छ । त्यसैले एउटा फिल्मलाई समर्थन गर्ने नाममा अर्को फिल्मलाई गाली गर्नुपर्ने, एउटा कलाकारलाई समर्थन गर्ने नाममा अर्को कलाकारलाई तथानाम गाली गर्नुपर्ने आवश्यकता छैन, र कुनै पनि स्वस्थ्य मानसिकता भएको संस्कारी मानिसले त्यस्तो गर्दा पनि गर्दैन ।

यहाँ हामी सबैले बुझ्नैपर्ने कुरा के छ भने- जे-जस्ता कुरा हामीलाई वा हाम्रा आफन्तको लागि अन्य कसैले प्रयोग गर्दा हाम्रो मन दुख्छ र हामी प्रतिकारसमेत गर्छौं त्यस्ता कुरा हामीले पनि कसैको लागि प्रयोग गर्नुहुन्न । हामीमध्ये केहीले जस्तो अश्लील कमेन्ट सामाजिक संजालमा लेख्छौँ के त्यस्तो भाषा हामी घर-परिवारमा हाम्रा आफन्तको अगाडि बोल्छौँ ? बोल्ने कल्पना पनि गर्दैनौँ । तर हामीमध्ये केहीले लेखेको त्यस्तो कमेन्ट जसको लागि लेखेको हो उसका साथीभाइ र परिवारले पढ्छन् । त्यो पढ्दा उनीहरूलाई कस्तो महसूस हुँदो हो ? एकपटक हामी सबैले आ-आफ्नो छातिमा हात राखेर के साँच्चै हामी त्यस्तो असभ्य र बिरामी मानसिकताका मान्छे हौँ ? के साँच्चै हाम्रो संस्कार हराएकै हो त भनेर सोच्ने बेला आएन र ?