अमेरिका नेपालको अध्यागमन सुरक्षामा सहयोग गर्न इच्छुक

अमेरिका नेपालको अध्यागमन सुरक्षामा सहयोग गर्न इच्छुक


नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताएकी छिन् ।

गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा समेत जिज्ञासा राखेकी थिइन् ।

जवाफमा मन्त्री थापाले ती विषय मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । सो भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

केही दिनमा राजदूतको रूपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

सो अवसरमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्वशान्ति कायम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले व्यक्त गरे ।

राजदूत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताइन् । उनले आफ्नो कार्यकालमा नेपाल सरकार र गृह मन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।

भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एवम् तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो ।