सवारी दुर्घटनामा पत्रकार खतिवडाको मृत्यु

सवारी दुर्घटनामा पत्रकार खतिवडाको मृत्यु


राजविराज । सप्तरीमा वुधबार भएको एक सवारी दुर्घटनामा परेर वरिष्ठ पत्रकार राजविराज ७ निवासी ७४ वर्षीय रामप्रसाद खतिवडाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका १५ देउरी भरुवास्थित राजविराज–भारदह सडकखण्डमा ना. ५ ख ६१० नम्बरको बसले को. १ ज २१४९ नम्बरको माइक्रोबसलाई ठक्कर दिँदा भएको दुर्घटनाका कारण खतिवडाको मृत्यु भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

टाउकोमा गम्भीर चोट लागेका खतिवडाको अवस्था चिन्ताजनक भएपछि नोबेल अस्पताल विराटनगर पठाइएकोमा बाटोमै मृत्यु भएको उनका ज्वाइँ प्रभाकर देवकोटाले जानकारी दिए ।

०३० सालदेखि पत्रकारिता पेशा सुरु गरेका खतिवडाले मातृभुमि साप्ताहिकमा लामो समयसम्म सप्तरीको सम्वाददाता भएर काम गरेका थिए । मृतक खतिवडा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य हुन् ।

बुझिएअनुसार खतिवडा माइक्रो बस चढेर विराटनगरबाट राजविराज आउँदै थिए । राजविराज पुग्न चार किलोमिटर बाँकी रहँदा माइक्रो बसलाई राजधानी बसले ठक्कर दिएको थियो ।