आन्दोलन चर्काउन काङ्ग्रेसले गुहाऱ्यो जनसम्पर्क समिति

आन्दोलन चर्काउन काङ्ग्रेसले गुहाऱ्यो जनसम्पर्क समिति


नेपाली काङ्ग्रेसले सरकारविरुद्धको आन्दोलनलाई यथासक्य चर्काउन लागेको सङ्केत मिलेको छ । अनसनरत चिकित्सक गोविन्द केसीको समर्थन गर्ने वहानामा ओली सरकारविरुद्ध आवाज उराल्दै गएको काङ्ग्रेसले सरकार अलोकप्रिय देखिएको मौका पारेर आन्दोलन चर्काउन लागेको हो ।

‘सरकारको अधिनायकवादी एवम् जनविरोधी क्रियाकलाप’का विरुद्ध साउन १५ गते विरोध प्रदर्शन गर्ने कार्यक्रम काङ्ग्रेसले केही दिनअघि नै तय गरेको थियो । आन्दोलनको घोषणा गरिए पनि काङ्ग्रेस नेतृत्वले अपेक्षा गरेअनुरुपको तयारी तल्ला तहका पार्टी कमिटीहरूले गरेका थिएनन् । यसरी कार्यकर्ता एवम् पार्टी–पङ्क्तिमा आन्दोलनको मानसिकता नै विकसित नभएको तथा माहोल सिर्जना हुन नसकेको अनुभूति भएपछि काङ्ग्रेस नेतृत्व चलमलाउन खोजेको छ ।

आन्दोलनको राप बढाउनका लागि काङ्ग्रेस केन्द्रिय कार्यालयले स्वदेशभित्र मात्र नभई प्रवासमा रहेका सबै जनसम्पर्क समितिहरूलाई समेत पत्र काटेर आन्दोलित हुन र विदेशमै पनि आ–आफ्नो अनुकुलताअनुसारको प्रदर्शन गर्न निर्देशन जारी गरेको छ । विदेशमा समेत नेपाल ससरकारविरुद्ध प्रदर्शन भएमा कम्युनिष्ट सरकारलाई दबाब पर्ने धारणा काङ्ग्रेस नेतृत्वले बनाएको बुझिन्छ ।

नेपाली जनसम्पर्क समितिहरूका नाममा नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयले जारी गरेको निर्देशनात्मक पत्रमा संघीय सरकार तथा प्रदेश सरकारहरू निर्वाचित भएर आएपछि सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार अगाडि बढ्नुको सट्टा कानुनी शासनको खिल्ली उडाउँदै मनीमानी ढंगबाट सञ्चालन गर्न उद्दत रहेको उल्लेख गरिएको छ ।

पार्टीका मूख्यसचिव कृष्णप्रसाद पौडेलको नाममा जारी गरिएको पत्रमा संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामु अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरिएको सन्दर्भ कोट्याउँदै संघीय व्यवस्थाको भावनाविपरीत अधिकारहरूको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा संचालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएको आरोप लगाइएको छ ।

यसैगरी, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानूनी तरिकाबाट खारेज गरिएकोमा पनि काङ्ग्रेस क्षुब्ध बन्न पुगेको छ । तत्कालीन सरकारले सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय गर्नुका साथै मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगको गम्भीर विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था भूकम्पपीडितहरूलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने यो सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी रहेको भन्दै आन्दोलनको आह्वान गरिएको छ ।

यस्तै, तत्कालीन सरकारले अध्यादेशमार्फत जारी गरेको चिकित्सा शिक्षा विधेयक उल्ट्याउने निर्णय, डा. गोविन्द केसीको अनशन र आन्दोलनबाट श्रृजित परिस्थितिलाई पनि पार्टीले गम्भीरताका साथ लिएको जनाइएको छ । उक्त अध्यादेशको हुबहु विधेयक आउनुपर्नेमा काङ्ग्रेसले दृढ मत राख्दै आएको छ ।

काङ्ग्रेसको सो निर्देशनात्मक विज्ञप्तिमा भनिएको छ– ‘देशमा महँगी आकाशिँदो छ, तर प्रधानमन्त्री यस विषयलाई गम्भीरताका साथ लिनुको सट्टा गैरजिम्मेवार तरिकाबाट प्रस्तुत हुनुभएको छ । स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरूले कानुन मान्दै आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाउने स्वतन्त्रतामाथि बन्देज लगाउँदै जाने, बाढी–पहिरोबाट पीडित जनताको आवश्यकता र समस्याहरूप्रति उदासिनताका साथ प्रस्तुत हुने र समग्रमा केन्द्र एवं प्रदेश सरकारमा भएकाहरूको अधिनायकवादी तथा जनविरोधी क्रियाकलापका विरुद्ध आगामी श्रावण १५ गते ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको हुँदा उक्त विरोध प्रदर्शनप्रति ऐक्यबद्धता कायम गर्न विदेशस्थित सबै जनसम्पर्क समितिहरूले आ–आफ्नो अनुकुलको विरोध प्रदर्शन गर्नुहुन निर्देशन अनुसार अनुरोध गरिन्छ ।’