पाकिस्तानमा पूर्वक्रिकेटर खानको पार्टीलाई प्रारम्भिक अग्रता

पाकिस्तानमा पूर्वक्रिकेटर खानको पार्टीलाई प्रारम्भिक अग्रता


पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पूर्वक्रिकेटर इमरान खानको पार्टीले अग्रता लिएको छ ।

४७ प्रतिशत मत गणना हुँदा खानको पार्टी पाकिस्तान तेहरिक ए–इन्साफ (पीटीआई)ले संघीय संसदका २७० सिटमध्ये ११३ मा अग्रता लिएको हो । प्रधानमन्त्री शाहिद खक्वान अब्बासीको पाकिस्तान मुस्लिम लिगले ६४ स्थानमा अग्रता लिएको छ ।

पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बालिवाल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी ४३ ठाउँमा अग्रता लिएको छ । अन्य दुई साना दल १४ स्थानमा अगाडि छन् ।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान इमरान खान सन् १९९५ पछि राजनीतिमा आएका हुन् । ६५ वर्षीय खान यसपालि पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् ।

यसअघि सन् २०१३ को आमनिर्वाचनमा उनको पार्टीले ३२ सिट मात्र जितेको थियो । पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरूलाई स्वीकार गर्न नसकिने जनाएको छ ।

मतगणना जारी रहे पनि खानका समर्थकहरूले सडकमा नाराबाजी गर्दैै खुसियाली मनाउन थालेका छन् । विपक्षी दलहरूले भने सैनिकको सहयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले चुनाव सकिएको १३ घन्टाभन्दा बढीको अवधिमा आधाभन्दा कम मात्र मतगणना भएको जनाएका छन् र यो अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिने खतरा बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाइ भएको स्पष्ट गरेको छ । ‘यो चुनाव १०० प्रतिशत निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए ।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान इमरान खान सन् १९९५ पछि राजनीतिमा आएका हुन् । ६५ वर्षीय खान यसपालि पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार पनि हुन् ।

राजाले चुनावको परिणाम कहिले घोषणा गरिन्छ भन्ने जानकारी दिन अस्वीकार गरे ।

सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले चुनावी परिणामलाई ‘खुलेआम धाँधली’को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका विरुद्धमा राजनीतिक एवं कानुनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ ।

‘आजको यस घटनाक्रमले पाकिस्तानलाई ३० वर्षअघिको अवस्थामा फर्काएको छ … आमजनता यसलाई स्वीकार्न तयार छैनन्,’ पार्टी नेता शहबाज शरिफले भने ।

कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिहरूलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्विटमार्फत जानकारी गराएका छन् ।

कुल २७० स्थान रहेको राष्ट्रिय सभामा सरकार गठनका लागि १३७ स्थान आवश्यक छ ।

राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।