जापानमा २८ वर्षअघि ग्यास हमलामा संलग्न ६ जनालाई फाँसी

जापानमा २८ वर्षअघि ग्यास हमलामा संलग्न ६ जनालाई फाँसी


जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमणसमेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ ।

यस हत्यामा संलग्न १३ जनामध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए ।

यस समूहका सदस्यले यात्रुले भरिभराउ भूमिगत रेल जापानको मुख्य सरकारी जिल्लास्थित कासुमिगासेकी रेल्वे स्टेसन पुग्नै लाग्दा स्नायु प्रणालीमा असर पार्ने सरिन ग्यास आक्रमण गरेका थिए । आज मृत्युदण्ड दिइएका ६ जनामध्ये चारजनाले रेलभित्र सरिन ग्यास आक्रमण गरेका थिए ।

तीन हप्ताअघि मृत्युदण्ड दिइएका सातजनामा सो हत्याकाण्डको नेतृत्व गर्ने तथाकथित धार्मिक नेता शोको आशाहारासमेत थिए । उक्त काण्डका प्रमुख उनी नै भएको प्रमाणित भएको थियो ।

तत्कालीन सरकारलाई पदच्युत गरी प्रलयकारी परिस्थिति ल्याउने परिकल्पना गरेको यस शोको आशाहारा समूहले रासायनिक, जैविक र परम्परागत हातहतियार भण्डार गरेको थियो ।

‘जापानमा एकै महिनाको अवधिमा यतिधेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो,’ जापानका न्यायमन्त्री योको कामिकावाल भने, ‘यो अक्षम्य अपराध हो । यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने हामी चाहन्छौँ ।’

फाँसीको सजाय दिइएका यी व्यक्तिमाथि सन् १९९५ मा जापानको टोक्योनजिकै माउन्ट फुजी आसपास एकै स्थानमा २७ जना जापानी नागरिककोे हत्या गरेको आरोप पनि लागेको छ ।

जापानमा निकै लामो अनुसन्धानपछि पत्ता लागेको यो घटनालाई एक कुख्यात हत्याकाण्डको रूपमा लिइएको छ । यस विषाक्त ग्यास आक्रमणबाट कम्तीमा ६ हजार व्यक्ति नराम्ररी बिरामी परेका थिए ।

यो समूहमा कुनै बेला जापानमा १०,००० र रुसमा ३०,००० जना अनुयायी रहेको दाबी गरिएको थियो । जापान सरकारले यो समूहलाई प्रतिबन्ध लगाएको थियो ।

रासस