अब ‘सोल्टी’ र ‘मितिनी’ पनि चीनलाई दिइने

अब ‘सोल्टी’ र ‘मितिनी’ पनि चीनलाई दिइने


सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम ‘सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’ (सानो खोर) मा ती दुईवटा गैंडा छन् । ‘सकेसम्म छिटो लैजान हामीले भनिरहेका छौँ, साउनमा नभए भदौमा जान्छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालले भने ।
भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो । सरकारले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियामा दुई–दुईवटाका दरले १० गैंडा उपहार दिएको छ ।

‘मितिनी’लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो । ‘सोल्टी’चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको हो ।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो । रुपसी र भद्र हाल चीनको चिमे लङसफारीमा रमाइरहेका ती गैंडाको रेखदेखमा रहेका वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामाले जानकारी दिए ।

सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । सरकारले एकसिंगे गैंडाको बाह्य वासस्थान संरक्षणको सिद्धान्तअनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो । सरकारले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियामा दुई–दुईवटाका दरले १० गैंडा उपहार दिएको छ । थाइल्यान्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ छ ।