बंगुरपालनबाट यस्तो आम्दानी

बंगुरपालनबाट यस्तो आम्दानी


कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएकी छिन् । चौधरीले बंगुर बिक्री गरेर वार्षिक १२ लाखभन्दा बढीको कारोबार गर्दै आएकी छिन् । यस कारोबारबाट उनी वार्षिक ६ लाख नाफा गर्छिन् ।

उनले १० लाख रुपैयाँबराबरको बंगुरको मासु तथा दुई लाख १० हजार रुपैयाँबराबरको बंगुरको पाठापाठी बिक्री गरेकी हुन् । चौधरीको फार्ममा चार जातका माउ बंगुर पालिएका छन् । ‘अझै ३० वटा बंगुर थप्ने योजना छ,’ उनी भन्छिन् ।

बंगुरपालनबाट आम्दानी गरेको तीन लाख ५० हजार रुपैयाँ खर्चेर उनले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गरेकी छिन् । चौधरीले तीन लाख रुपैयाँमा फार्मका लागि जग्गा पनि खरिद गरेकी छिन् ।

घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालिम लिएर चौधरीले आधुनिक तरिकाले बंगुरपालन गर्न थालेकी हुन् । बालबालिकाको पढाइ तथा घरखर्च बंगुरपालनको आम्दानीले धानिएको उनी बताउँछिन् ।