लक्ष्यजति उठेन राजस्व

लक्ष्यजति उठेन राजस्व


आर्थिक वर्ष ०७४-७५ मा सुक्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु. ९५ करोड ९० लाख ५६ हजार कम राजस्व संकलन गरेको छ ।

सरकारले सिर्सियालाई आव ०७४-७५ मा रु. २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजस्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु. २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजस्व उठाउन सकेको छ ।

आव ०७३-७४ मा कार्यालयलाई रु. २१ अर्ब चार करोड आठ लाख ८० हजार राजस्व उठाउने लक्ष्य दिएकामा रु. २१ अर्ब ५८ करोड ८५ लाख राजस्व संकलन गरेको थियो ।

सुक्खा बन्दरगाह कार्यालयका भन्सार अधिकृत धनबहादुर बडुवालका अनुसार आव ०७४-७५ मा सो कार्यालयले भन्सार महसुलतर्फ रु. ११ अर्ब ६४ करोड ३० लाख ५३ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. १४ अर्ब दुई करोड ६० लाख ३८ हजार तथा अन्तःशुल्कतर्फ रु. एक अर्ब ६६ करोड ६१ लाख राजस्व संकलन गरेको थियो ।

०६४ मा स्थापना भएको सिर्सिया सुक्खा बन्दरगाहलाई चालू आवमा रु. ३६ अर्ब २४ करोड ३२ लाख ६ हजार राजस्व उठाउने लक्ष्य दिइएको छ ।