हाम्रो घरै ठीक छैन, गुटउपगुट छ : कोइराला

हाम्रो घरै ठीक छैन, गुटउपगुट छ : कोइराला


नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँगे्रसका कार्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस जिल्ला कार्य समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उनले भने, ‘सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।’

महामन्त्री डा कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकताअनुसार काँग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताए ।

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उनले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली काँगे्रस अगाडि बढ्नुपर्ने बताए ।

नेपाली काँगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली काँगे्रसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको काँगे्रस बलियो हुने पनि उनले बताए ।