जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले गत आइतबार उनको निधन भएको जानकारी दिएको हो ।
सन् १९०१ को मे २ तारिखमा जन्मिएकी मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुन पुगेकी थिइन् । गत अप्रिलमा ११७ वर्षकै उमेरमा तत्कालिक सबैभन्दा जेष्ठ जापानी नावि ताजिमाको निधन भएको थियो ।
आइतबार निधन भएकी मियाको संसारकै सबैभन्दा ज्येष्ठ नागरिक भएको अनुमान पनि गरिएको थियो । उनको निधनपछि जापानमा अब सबैभन्दा ज्येष्ठ नागरिक काने तानाका बन्न पुगेकी छिन् । तानाकाको जन्म सन् १९०३ जनवरी २ तारिखमा भएको थियो । यस हिसाबले उनी अहिले ११५ वर्षकी छिन् ।
जापानकै सबैभन्दा ज्येष्ठ पुरुष भने ११३ वर्षका मासाजो नोनाका बनेका छन् । उनललाई विश्वकै सबैभन्दा ज्येष्ठ पुरुष मानिन्छ ।उनको नाम गिनिज बुकमा पनि विश्वकै सबैभन्दा ज्येष्ठ पुरुषको रुपमा रहेको छ ।
प्रतिक्रिया