इन्द्रेणी

इन्द्रेणी


indreniखबरदार ! खबरदार !! खबरदार !!!
– बद्रीप्रसाद दहाल

सङ्घीय राज्य, भङ्गीय बन्ला, दम्भमा डुग्रँदा ।
झोकतन्त्र झिक्दा, लोकतन्त्र ढल्छ, अहम्मा कुर्लंदा ।।
गणको तन्त्र, गाणतन्त्र बन्ला ? स्वार्थमा दगुरे ।
सिक्किमीकरण, भुटानीकरण होला है ठाकुरे ।। १ ।।

नेपालकादल, एकता गरी, उमार श्रीखण्ड ।
चन्द्रमा–सूर्य, अङ्कित झन्डा, रहोस् है अखण्ड ।।
साम्राज्यवादी विस्तारवादी, विस्तारै हेर्दै छन् ।
राष्ट्रमा सङ्कट, पर्ला है नेता, फिरङ्गी घेर्दै छन् ।। २ ।।

भूगोल, भाषा, धर्म र जातिविभेद उठाई ।
वैरीले चर्का, षड्यन्त्र गर्लान्, हामीलाई सुताई ।।
रोगतन्त्र होला ? खोकतन्त्र होला ? यो प्यारो लोकतन्त्र ।
भाँडतन्त्र बन्ला, राँडतन्त्र हुर्की, सङ्घीय गणतन्त्र ।। ३ ।।

दक्षिणायन उत्तरायण, पश्चिमी अयन ।
ताकेर मात्रै, लोकको तन्त्र, आउने भएन ।।
प्रभुको निम्ता, सत्ताको चिन्ता, सिद्धान्त मासेर
साँढेको कथा, विश्वास गर्छौं आशामा नाचेर ।। ४ ।।

पुरानो सृष्टि, मासेर नयाँ, गरेनौँ रचना ।
झुम्राको खेल्ने, पुतली भयौँ, बेचेर गहना ।।
लगौँटी झर्दा, लाज नै छैन, टाउके लाउके ।
टुट र फुट, लडन्त गर्ने, घीनलाग्दा माउते ।। ५ ।।

गधाको जात्रा, साँढेको जात्रा, राँगोका जात्राले ।
भैंसीको जात्रा, पाडाका जात्रा, अगस्ति जात्राले ।।
हराइसक्यो, गाईको जात्रा, टाउके हो ! खबर्दार ।
जनता उठी, सिध्याइदेलान्, लाउके हो ! होसियार ।। ६ ।।

गजल– प्रकाश ‘उज्यालो’

यो प्राणले निकै, सताउने भो सधैँ
नबोले नी बानीले बताउने भो सधैँ

लाख कोसिस गरियो भुलिदिन्छु भन्दै
मनले नै तिमी भा’ठाँ, खटाउने भो सधैँ

ठाउँ छैन यतापटि, नल्याऊ त भन्छु
तर दिलको कुनामा, अटाउने भो सधैँ

थाहा छैन अब, साँच्चै हुन्छ के
यस्तै गरी जिन्दगी, कटाउने हो सधैँ ?
– हाल ः काठमाडौं

नेताहरूलाई कस्तो लाग्ला– कुमार नगरकोटी

फूल रोपे फूलै फुल्छ
धान रोपे धान ।
अन्यायको विरुद्धमा
युवा लड्न जान ।। अब अब

लोकतन्त्रको आसमा हामी
कति लड्यौँ लड्यौँ
राजनीतिको पारा के हो,
त्यति पनि पढ्यौँ ।। हामीले हामीले

गणतन्त्र भन्दाभन्दै
केसै फुल्न थाल्यो ।
नेता सबले खाली पोस्टमा
आफ्नै मान्छे हाल्यो ।। यहाँ यहाँ

गाउँदै हिँड्न थाले नेता
संविधानको धारा ।
ठेकदार हुन् यिनीहरू
जनता मार्ने साह्रा ।। यिनै यिनै

कैयौँपटक अश्रुग्यास र
लाठी जनता खाने ।
आदर्शका कुरा गरी
अझै कुर्सी ताक्न जाने ।। घुक्दै घुक्दै

छाड्नु हुन्न युवा यिनलाई
अब साथ देऊ
पत्रकार मित्र बन्धु
सत्य लेखिलेऊ, गाउँले गाउँले

युवा जाग्ने युवाले नै
गर्छन् देशको काम ।
जनता मिलौँ नेता सबलाई
पु-याऊँ परम्धाम ।। सबलाई

आकाश बन्न खोजेझैँ
धर्तीमा ल्याई गाडौँ
जनता सबका अन्यायीलाई
हथकडी लाइछाडौँ ।। जनता जनता