बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु

बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु


काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना महिला, ३ पुरुष र १ जना बालक रहेको चितवनका सहायक सिडियो लक्ष्मीप्रसाद बास्कोटाले बताए । उनका अनुसार मृतकहरूको सनाखत हुन सकेको छैन ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना.६ख २५०६ नं. को बस विपरीत दिशाबाट आउँदै गरेको ना.५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि शुक्रबार अपराह्न १२ बजे त्रिशूलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

घाइते २३ जनालाई उद्धार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते सबैको उद्धार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्धारमा खटिएका थिए ।