डटेर कुरा राख्न प्रधानमन्त्रीको निर्देशन

डटेर कुरा राख्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

नेकपा संसदीय दलको बैठकलाई आज शुक्रबार सम्बोधन गर्दै उनले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘शीर्ष नेताहरूले सरकारका नीति तथा कार्यक्रम र बजेटबारे खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै प्रधानमनन्त्री ओलीले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै भने– कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने बताए ।

बैठकमा चिकित्सक डा. गोविन्द केसी र सरकारबीच भएको नौबुँदे सहमतिबारे जानकारी गराइएको थियो ।