बिमस्टेक पूर्वसम्मेलन आगामी साता काठमाडौंमा हुँदै

बिमस्टेक पूर्वसम्मेलन आगामी साता काठमाडौंमा हुँदै


समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रूपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आगामी साता काठमाडौंमा प्रिसमिट (पूर्वसम्मेलन) हुने भएको छ ।

सरकारीस्तरमा नभई जनस्तरमा यही साउन १७ र १८ गते बिमस्टेकको प्रिसमिट हुन लागेको हो । ‘इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो–इकनमिक रिसर्च’ नामक संस्थाको अगुवाइमा हुने उक्त सम्मेलनमा सबै सदस्य देशका विदेश मन्त्रालयका बहालवाला तथा सेवानिवृत्त उच्च अधिकारीले भाग लिनेछन् ।

आयोजक संस्थाका कायममुकायम अध्यक्ष प्रा. गोविन्द नेपालका अनुसार प्रिसमिटमा बिमस्टेक सदस्य देशका राजदूत, विदेश–बाह्य मामिला–परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत, विद्वत् वर्ग र सामाजिक–आर्थिक जीवनका प्रतिष्ठित व्यक्तिले भाग लिनेछन् ।

बिमस्टेक देशका आर्थिक–सामाजिक विषय तथा गरिबीजस्ता जनसरोकारका मुद्दालाई लिएर उक्त संस्थाले गरेका अध्ययन प्रतिवेदन प्रिसमिटपछि बिमस्टेकको अध्यक्ष मुलुक नेपाललाई बुझाइने जानकारी पनि उनले दिए ।