भीषण वर्षापछि नयाँदिल्लीका अधिकांश भाग डुबानमा, यातायात प्रभावित

भीषण वर्षापछि नयाँदिल्लीका अधिकांश भाग डुबानमा, यातायात प्रभावित


भारतको राजधानी नयाँदिल्लीमा दुई दिनदेखि लगातार परेको वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ ।

मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । भारी वर्षाका कारण दिल्ली प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ ।

दिल्लीको मौसमबारे जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार बिहीबार राति ४५.८ मिलिमिटर वर्षा भएकोमा आज शुक्रबार बिहानसम्म ३७.४ मिलिमिटर वर्षा भएको छ ।

दिल्लीका जाकिर हुसैन कलेज, रामलीला मैदानलगायतका क्षेत्रमा वर्षादको पानी जमेको छ । वसन्तकुञ्जबाट इन्दिरा गान्धी विमानस्थलसम्मका मार्ग पनि जलमग्न भएका छन् । नयाँदिल्लीका कतिपय स्कुल बन्द गरिएका छन् ।

पीटीआई