डा. केसीसँग भएको सहमति सदनमा टेबुल

डा. केसीसँग भएको सहमति सदनमा टेबुल


प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागपछि सरकार र डा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबुल गरिएको छ ।

आजको बैठकको शुरुमै कांग्रेसका सांसदले आसनबाट उभिएर उक्त सहमतिबारे स्पष्ट पार्न सरकारसँग माग गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका डा. मीनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सांसद डा. रिजालले सरकार र प्राडा केसीबीच वार्तामार्फत सहमतिमा अनशन टुंगिनु सकारात्मक भए पनि प्राडा केसीले लामो समय अनशन बस्नुपरेको र संसद् पनि नियमित चल्न नसक्नु दुःखद रहेको बताए ।

सरकारले जबर्जस्ती यथास्थितिमा विधेयक अघि बढाउन नसक्ने भन्दै उनले प्राडा केसीको माग सम्बोधन गर्न भएको सहमतिले सार्वभौम जनताको जीत भएको उल्लेख गरे ।

सरकारका तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र प्राडा केसीबीच बिहीबार राति नौबँुदे सहमति भएपछि उनको स्वास्थ्यलाई ध्यानमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको तथा सहमति भएका विषयलाई सरकारले प्राथमिकताका अगाडि बढाउने बताए ।

कांग्रेसका गगनकुमार थापा, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, लक्ष्मी परियार, उमा रेग्मी, रामबहादुर विष्ट र प्रकाश रसाइली तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले वार्ताका माध्यमबाट भएको सहमति सकारात्मक छ भन्दै बंगलादेशमा अध्ययन गरेर फर्केेका र अध्ययनरत छात्राबारे मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएका अभिव्यक्ति छानबिन गरी कानुनी कारबाहीको माग गरेका थिए ।

उनीहरूले प्राडा केसीको मागका विषयमा भएका सहमतिबारे स्पष्ट पार्नुपर्ने बताउँदै सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयन नभएका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिपक्षी दलका सांसदले सरकारसँग पुनः स्पष्ट पार्न थप प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकार र प्राडा गोविन्द केसीबीच भएको नौबुँदे सहमति सदनमा टेबल गर्दै थप जानकारी दिएका थिए ।

मन्त्री पोखरेलले जुम्लामा भएको घटना तथा बंगलादेशमा अध्ययनरत छात्राका बारेमा दिइएको सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा सरकारले मन्त्रिपरिषदमा छलफल भएपछि सदनलाई जानकारी दिने बताए । त्यसपछि पनि कांग्रेसका सांसदले सहमतिको पत्रबारे सांसदलाई जानकारी पाउनुपर्ने अडान राखेपछि सभामुख महराले संसद् बैठक १० मिनेटका लागि स्थगन गरेका थिए ।

मन्त्री पोखरेलको जवाफपछि कांग्रेसका बालकृष्ण खाणले प्राडा केसीसँग भएको सहमतिबारे स्पष्ट पार्नुपर्ने बताउँदै सहमतिको मन्त्रिपरिषद्ले स्वामित्व लिनुपर्ने माग गरे ।